इनरुवा, ७ वैशाख । उदयपुरमा कोरोना भाइरस संक्रमितसँगै बसेका सुनसरीका एक जनालाई विराटनगर पठाइएको छ । कोरोना संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् ।
कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए ।
संक्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।
घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर पठाएको हो । रासस