लघुकर्जा लिनेको कहर : ब्याज मिनाहा र साँवामा छुटको माग

लघुकर्जा लिनेको कहर : ब्याज मिनाहा र साँवामा छुटको माग

माला कर्ण

सप्तरी, वैशाख ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण समूहमा लघुकर्जा लिने ऋणीले आफूहरू समस्यामा परेको भन्दै सहुलियतको माग गरेका छन् । उनीहरूले अर्थमन्त्रीलाई पत्र लेख्दै साँवा र ब्याजमा सहुलियत मागेका छन् ।
उद्योग, साना व्यवसाय क्षेत्रमा गम्भीर असर परेको र ऋणीहरूको दैनिक अवस्था अस्तव्यस्त रहेकाले स–साना व्यवसायका लागि बैङ्क तथा लघुवित्त संस्थाले गरेको लगानीको ब्याज मिनाहा तथा साँवामा छुटका लागि समूहका सदस्यहरूले माग गरेका हुन् ।

ग्रामीण विकास बैङ्क, स्वावलम्बन विकास बैङ्क, छिमेकी लघुवित्त बैङ्क, महुली सामुदायिक संस्थालगायतका लघुवित्त संस्थामा आबद्ध सदस्यहरूले नेपाल सरकारका अर्थमन्त्री तथा अर्थ मन्त्रालयको कार्यालयमा छुट्टाछुट्टै निवेदन पठाई बन्दाबन्दी (लकडाउन) अवधिको ब्याज मिनाहा तथा कृषि ऋणमा छुटको माग गरेका हुन् ।
ग्रामीण विकास बैङ्क लिमिटेड कल्याणपुर शाखा आबद्ध खडक नगरपालिका–८ का सदस्यहरू ममतादेवी चौधरी, जसोदेवी चौधरी, प्रमिलादेवी साह, संसारीदेवी सदालगायत १२ जना सदस्य, खडक नगरपालिका वडा नं. ८ र ७ मा रहेका छिमेकी र महुली लघुवित्त संस्था आबद्ध सदस्यहरू विमलादेवी चौधरी, ललिता चौधरी, सन्जु ठाकुर, सुमिन्त्रादेवी पासवानसहित ४७ जना र अन्य आठवटा समूहका सदस्यहरूले सोमबार र आइतबार छुट्टाछुट्टै निवेदन दिई सो माग गरेका हुन् ।

सोमबार समूहका निवेदन सङ्कलन गरी अर्थमन्त्रीलाई इमेलमार्फत निवेदन पठाइएको समूहका सदस्य इन्द्रदेव चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै सिरहाको लहानमा रहेका लघुवित्त बैङ्क आबद्ध लहान बजारका सदस्यहरूले ब्याज र ऋण मिनाहाको माग गरेका छन् । लहान बजार समूहका सदस्यहरू रेश्मा अमना, सीता देवी, गीता देवी, रेखा देवीले निवेदन दिएका छन् ।
कोरोनाका कारण विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको असर स्थानीय व्यवसायमा देखिएकाले बैङ्कको ब्याज बुझाउने अवस्थासमेत नरहेको र व्यवसाय नै धरापमा परेकाले सो पहल गरिदिन अर्थमन्त्रीसँग माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्