विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक भोली बुधबार डिस्चार्ज गरिने भएको छ ।
उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जनाले कोरोनालाई जितेका हुन् ।
अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई बुधबार डिस्चार्ज गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको तीन पटक नेगेटिभ नतिजा आएकोले उनीहरु कोरोनामुक्त देखिएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिनुभयो । अन्य संक्रमितको पनि स्वाब परीक्षण भइहरेको छ । तीन पटकको परीक्षणमा नेगेटिभ देखिएकालाई डिस्चार्ज गरिने र पोजेटिभ देखिएकालाई अर्को १४ दिन अस्पतालमै राखिने उहाँको भनाइ छ ।
विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत छन् । तीमध्ये १२ जना भारतीय हुन् । उपचारमा रहेका अन्य २ जना झापाका र १ जना भोजपुरका छन् ।