विराटनगरका औषधि व्यवसायीको हत्यामा श्रीमती र प्रेमीको संलग्नता: प्रहरी

विराटनगरका औषधि व्यवसायीको हत्यामा श्रीमती र प्रेमीको संलग्नता: प्रहरी

विराटनगर महानगरपालिका–१० मा हिजो मृत फेला परेका औषधि व्यवसायको हत्या भएको प्रहरीले बताएको छ । मृत फेला परेका ३३ वर्षीय देवीप्रसाद दुलालको उनको श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ ।
हत्यामा ३३ वर्षीया श्रीमती मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका –११ का २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाउनका लागि पक्राउ गरि सकिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनले हत्यामा संलग्नलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिए ।
सुनसरीको खनार घर भएका दुलालले विराटनगर–१० मा घर भाडामा लिँदै देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर सञ्चालन गरेका थिए । त्यही डिलरमा चार वर्षदेखि काम गर्थे साह । त्यस क्रममा श्रीमतीसँग हिमचिम बढेको चाल पाएपछि पाँच महिना अघि दुलालले उनलाई कामबाट निकालिदिएका थिए ।

कामबाट निकालिदिए पनि मीनासँगको उनको सम्पर्कले भने निरन्तरता पाइरहेको दुलालले चाल पाएपछि श्रीमान र श्रीमतीबीच झगडा भएको प्रहरीको भनाइ छ । आफूहरुको प्रेममा बाधक बनेको भन्दै मीनाले ब्रह्मदेवसँग सल्लाह गरेर गत शुक्रबार श्रीमानको हत्या योजना बनाएको प्रहरी स्रोतले बतायो । मीना र साहबीच एक वर्ष प्रेम सम्बन्ध रहेको खुलेको छ ।

पूर्व योजनाअनुसार नै दुई जनाले हातमा पञ्जा लगाउँदै घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको एसपी अधिकारीको भनाइ छ । शनिबार राति दुलालको घरमा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । उनीहरु राति ९ बजे त्यहाँबाट निस्किएका थिए । त्यसपछि राति ११ बजे मीनाले साहलाई बोलाएर दुई जनाले मिलेर दुलालको हत्या गरेको प्रहरीको भनाइ छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेको थाहा पाएर प्रतिकार गर्ने क्रममा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्युलाई स्वभाविक मान्न नसकिने जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीको भनाइ छ ।

दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने भन्दै घटनाको वास्तविकता लुकाएर ढाँट्ने प्रयास गरेको प्रहरी स्रोतको भनाइ छ । सुतेको ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै मीनाले नै केही व्यक्तिको सहयोगमा श्रीमानलाई उपचारका लागि भनेर अस्पताल पुर्याएकी थिइन् । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीबाट फेला पारेको छ । घटनाको प्रमाण नष्ट बनाउन हत्यामा प्रयोग गरिएका सामान घटनास्थलबाट लगेर अन्यत्र फ्यालिएको पाइएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न ब्रह्मदेव दुलालले आफ्नो औषधि डिलरबाट निकालिदिएपछि विराटनगर बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालेका थिए । उनलाई बरगाछीबाटै प्रहरीले पक्राउ गरेको हो ।
दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्