विराटनगरमा लकडाउन अवज्ञा गर्दै मेयरद्वारा वडा कार्यालयको भवन उद्घाटन

विराटनगरमा लकडाउन अवज्ञा गर्दै मेयरद्वारा वडा कार्यालयको भवन उद्घाटन

लकडाउनको अवज्ञा गर्दै विराटनगरको वडा नम्बर ११ को नव निर्मित वडा भवनको सोमबार उद्घाटन भएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उद्घाटन गरेको उद्घाटन कार्यक्रममा सामाजिक दुरी कायम नगरेको र लकडाउन अवज्ञा गरिएको तस्विरहरु आवर विराटनगरले प्राप्त गरेको छ । सरकारले कोभिड-१९ को संक्रमण फैलने भन्दै भिडभाड हुने तथा समारोह, उद्घाटन लगायतका कार्य नगर्न निर्देशन नै जारी गरेको छ ।

स्मरण रहोस् , आइतबार मात्रै विराटनगरका २ वटा वडामा दुइ जना संक्रमित देखिएका थिए । ति संक्रमितहरु मध्ये एक जना महानगरपालिकाकै सफाई कर्मचारी भएको सार्वजनिक भएको थियो । विराटनगरमा संक्रमित देखिएसँगै सोमबारबाट विराटनगरमा लकडाउनलाई थप कडाई गरिएको छ । आम सर्वसाधारणलाई अति आवश्यक काम बाहेक बाहिर निस्कन प्रशासनले निषेध गरेपनि वडा कार्यालयको भवन शिलान्यासमा लकडाउन र सामाजिक दुरीको नियमको अवज्ञा गरिएको छ ।

वडा कार्यालयको भवन उद्घाटन
स्थानीय वडाबासी तथा नेता कार्यकर्ताको भिड नव निर्मित भवन र अगाडीको सडकमा जम्मा भएको थियो विराटनगरवासीलाई सामाजिक दुरी कायम गर्न र लकडाउनको पालना गर्न अपिल गरेका मेयर पराजुली आँफैले लकडाउनमा उद्घाटन जस्तो गैर अत्यावशक कार्यक्रममा सहभागी हुनु र सामाजिक दुरीको अवज्ञा गरेको पाइएको छ ।

महानगरका मेयर पराजुली स्वयम सल्लाहकार रहेको कोभिड-१९ संकट व्यवस्थापन समिति (CCMC) ले गत वैशाख २८ गते बसेको बैठकबाट मोरंग जिल्लामा सार्वजनिक जमघट हुने लगायतका कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको छ ।

यस विषयमा हामीले वडाका अध्यक्ष तिर्थेन्द्र न्यौपानेलाई सम्पर्क गर्दा उनले उद्घाटन सामान्य तरिकाले पुजा गरेर प्रवेश गरिएको बताए । 'हामीले धेरैलाई बोलाएका थिएनौै । वरीपरि छरछिमेक लगायतका स्थानीयवासी जम्मा भएका हुन्' उनले भने 'तस्विर खिच्ने बेलामा छेउछाउ आउँदा भिड देखिएको हो ।'

वडाध्यक्ष न्यौपानेले हाल भवन पुर्ण रुपमा तयार नभएको र माथिल्लो तल्लामा हल लगायतको कोठा बनाउन बाँकि रहेको बताए । उनले भने भवन निर्माण सम्पन्न हुँदा ८४ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।

 

माथिका तस्विरहरु सामाजिक संजालमा हालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्