भारतीय नाकामा अलपत्र परेका नेपाली युवकको मृत्यु

भारतीय नाकामा अलपत्र परेका नेपाली युवकको मृत्यु

जनकपुर । भारतबाट नेपाल आउन सीमा नाकामा थुनिएका एक नेपाली युवकको मृत्यु भएको छ । धनुषाको जटही नाका हुँदै नेपाल प्रवेश गर्न मंगलबारदेखि सीमामै रोकिएका धनुषा, सहिदनगर नगरपालिकाका ३० वर्षीय युवकको बुधबार बिहान मृत्यु भएको हो ।

चार महिनाअघि रोजगारीको सिलसिलामा भारतीय सहर गुजरात पुगेका सहिदनगर नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको बुधबार सीमामै मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले पुष्टि गरे । बन्दाबन्दीले काम पाउन नसक्ने भएपछि १७ दिनअगाडि गुजरातबाट हिँडेका गुरमैता मंगलबार साँझ जटही नाकामा आइपुगेका थिए ।

जिल्लामा क्वारेन्टाइन व्यवस्थापन भइरहेको भन्दै प्रहरीले नाकामा जम्मा भएकाहरूलाई दुई दिनदेखि वारि आउन दिएको थिएन । पोषिलो खान नपाएर बाटोमै बिरामी परेका गुरमैताले जटही आइपुगेपछि परिवारजनलाई खबर गरेका थिए ।
परिवारका सदस्यहरूले राति नै एम्बुलेन्स लिएर पुगे तर प्रहरीले पारि जान दिएन । रातभर संघर्ष गरे पनि दाजुलाई भेट्न नपाएको र बिहान मृत्यु भएपछि सेनाले विधि प्रक्रियाअनुसार शव ल्याउने कुरा गरिरहेको मृतकका भाइ धीरेन्द्रले जनाएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बस्नेतले पनि घटनास्थलको मुचुल्का प्रहरीले उठाएको र गुरमैताको शव नेपाली सेनाले उपयुक्त विधि अनुसार पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा ल्याउने तयारीमा रहेको जानकारी दिए । शवको स्वाब जाँचका लागि अस्पतालबाटै लिइने र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्