प्रदेश १ को बजेट अधिबेशन आजबाट सुरु, किसानका लागि राहत प्याकेज घोषणा

प्रदेश १ को बजेट अधिबेशन आजबाट सुरु, किसानका लागि राहत प्याकेज घोषणा

विराटनगर । प्रदेश १ को प्रदेशसभाको छैठौं तथा बजेट अधिवेशन बुधबारबाट सुरु भएको छ । छैठौं अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले सम्वोधन गरी आगामी बजेटका सन्दर्भमा सुझावहरु व्यक्त गर्नुभएको थियो ।


बैठकलाई सम्वोधन गर्दै नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले किसानका लागि राहत प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । मुख्यमन्त्री राईले लकडाउनका कारण उत्पादन बजारसम्म लगेर बेच्न नपाएर नोक्सानी ब्यहोरेका किसानहरुलाई राहत प्याकेज मार्फत सरकारले सम्वोधन गर्न लागेको जानकारी दिनुभयो ।
सम्वोधनका क्रममा मुख्यमन्त्री राईले कोरोना महामारी र त्यसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले गरेको कामहरुको समिक्षामा धेरै समय खर्च गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रदेश सरकारले समयमै रोकथाम तथा नियन्त्रणका लागि २३ बुँदे कार्ययोजना बनाएर अघि बढेकोले चुस्त व्यवस्थापन गर्न सकेको दावी पनि गर्नुभयो ।
मुख्यमन्त्री राईले रोजगारी गुमाएर गाँउ फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुको सीपलाई उत्पादनमा जोड्ने र स्वरोजगार बनाउने योजना सरकारले अगाडि सार्ने पनि बताउनुभएको छ । त्यसका लागि प्रदेश सरकारले अनलाइन फर्मको तयारी गरिरहेको र स्वदेश फर्कन चाहने युवाहरुले आफुसँग भएको सीप, परिवारको अवस्था र फर्किएपछि गर्न चाहेको कामको विवरण भरेर सरकारलाई पठाउन सक्ने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

 


प्रदेशसभाको छैंठौं अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसका नेता राजीव कोइरालाले कोरोना विरुद्धको संघर्षमा सरकार एक्लैले काम गर्न खोजेको बताउनुभयो । स्थानीय तहहरुको प्रभावकारी काम गरेपनि माथिल्ला सरकारहरु प्रभावकारी नदेखिएको उहाँको भनाई थियो । सर्वदलीय संयन्त्रहरु प्रदेश तहमा बनेपनि जिल्ला र स्थानीय तहमा नपुगेकोमा उहाँको गुनासो थियो ।
अधिवेशनको पहिलो बैठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी नेता इन्दीरा राई, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णु तुम्बाहाम्फे लगायतले सम्वोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्