विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका विभिन्न स्थानका निजी स्कुल तथा सरकारी विद्यालयमा होल्डिङ एरीया बनाउन लागेको भन्दै स्थानियद्धारा विरोध हुन थालेको छ ।
विराटनगर–५ स्थित दिल्ली पब्लीक स्कुलमा बनाईएको होल्डिङ एरियामा भारतबाट आएका नेपाली नागरिकलाई राख्ने बिषयप्रति असन्तुष्टि व्यक्त गर्दै विरोध प्रदर्शन गरेका हुन ।
प्रदेश नं. १ सरकारले भारतीय सीमावर्ती क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएका झापा, मोरङ्ग, सुनसरी र ईलाम लगायतका जिल्लाहरुमा ५ हजार क्षमताको होल्डिङ एरिया निमार्ण गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी उक्त जिल्लाहरुमा क्वारेन्टाईन सहितको होल्डिङ एरिया निमार्ण गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको सोही निर्णय बमोजिम विराटनगर महानगरपालिकाले पनि कोरोना सङक्रमणको रोकथाम तथा न्युनीकरणका लागी विराटनगरका विभिन्न वडाहरुमा भारतबाट आएका नेपाली नागरिकहरुलाई राख्न क्वारेन्टाइन सहितको होल्डिङ एरिया बनाउने निर्णय गरेको थियो । महानगरपालिकाले विराटनगर–१३ स्थित डि.ए.भी स्कुल र विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलमा होल्डिङ एरिया निमार्णको तयारी थालेको थियो ।
तर सम्बन्धित वडाका नगरबासीले सुरुवाती चरणदेखि नै महानगरको उक्त निर्णयप्रति विरोद्य जनाउँदै आएका थिए ।
उनीहरुले सम्बन्धित वडामा होल्डिङ एरिया बनाउँदा समुदायस्तरमा कारोना सङक्रमण फैलनसक्ने त्रासले विरोध जनाउँदै आएका छन् ।
यद्यपि विराटनगर–१३ स्थित दिल्ली पब्लिक स्कुलमा भने ४ सय क्षमताको होल्डिङ एरिया निमार्ण भईसकेको छ । त्यहाँ हाल भारतबाट आएका कुल ७४ जना नेपाली नागरिकहरुलाई राखिएको छ । जसमा जेठ १३ र १४ गते जोगबनी नाका हुँदै नेपाल भित्रिएका ३ सय ६० जनामध्ये २ सय ८६ जनालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरुको आ–आफ्नो गन्तव्यसम्म पुर्याई सकिएको छ ।
तर विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलमा निमार्ण गरिएको होल्डिङ एरिया स्थानीयबासीले विरोध गरेपछि प्रयोगमा आउन सकेको छैन । उनीहरुले निर्माण गरिएको होल्डिङ एरिया सञ्चालनमा आएपछि स्थानीय बासिन्दा पनि कोरोना सङक्रमणको उच्च जोखिममा पर्न सक्ने स्थानिय अलिा खातुने गुनासो गरिन् ।
तर जोगबनी नाकामा दिनहुँ नेपाल भित्रन चाह्ने नेपाली नागरिकहरुको सङख्या दिनप्रतिदिन बढ्दै गएपछि महानगरपालिकाले विराटनगर–७ स्थित आर्दश मा.वि मा थप ३ सय क्षमताको होल्डिङ एरिया निमार्ण गरि आजैदेखि सञ्चालनमा ल्याएको छ । भारतबाट आएका नेपाली नागरिकलाई जथाभाबी छोडिदिए समुदाय स्तरमा कोरोना भाईरसको सङक्रमण फैलिन सक्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । होल्डिङ एरियाको सम्बन्धमा स्थानीयद्धारा गरिएको विरोध सान्दर्भिक नभएको मेयर पराजुलीले धारणा व्यक्त गरे ।
कोरोना सङक्रमणको जोखिम न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले भने १९ वटै वडामा क्वारेन्टाईन निमार्णको तयारी गरेको छ । महानगरले दीर्घकालीन सोचका साथ क्वारेन्टाईन निमार्णका लागी विभिन्न होटल व्यावसायीहरुसँग समेत समन्वय गरेको छ ।