विराटनगर । बन्दाबन्दी (लकडाउन) ले लामो समयसम्म कारोबार हुन नसक्दा विराटनगर दुग्ध वितरण आयोजनाले किसानको भुक्तानी दिन सकेको छैन ।
आयोजनाले लकडाउनमा किसानसँग उत्पादन भएको दुध खरिद गरेपनि उत्पादन भएको दुधजन्य पदार्थ बिक्री गर्न नसक्दा भुक्तानि असन्तुलनमा फसेको हो ।
आयोजनाको गोदाममा ९८ करोड ६६ लाख मूल्य बराबरको दुधजन्य पदार्थ लामो समयदेखि भण्डारण गरिएको छ । बजार अभावका कारण उत्पादित वस्तु बिक्री गर्न नपाएका कारण कच्चा दुध खरिद गरेको रकम भुक्तानी गर्न नसकिएको आयोजना प्रमुख गणेश यादवको दावी छ ।
प्रदेश १ को इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापा र मोरङका ११ हजार किसानको झण्डै १५ करोड रुपिँया रकम गत चैतयता आयोजनाले भुक्तानि गर्न नसकेको हो ।
आयोजनाको गोदाममा ८ लाख किलोग्राम धूलो दुध, सात लाख किलो मखन, २० हजार किलोग्राम घ्यू थन्किएको छ । आयोजना प्रमुख यादवका अनुसार १ करोड ६६ लाख मूल्य बराबरको घ्यू, ४८ करोड मूल्य बराबरको धुलो दुध, ४९ करोड मूल्य बराबरको मखन बिक्री गर्न नसक्दा किसानलाई भुक्तानि दिन नसकिएको बताउनुभयो ।
लकडाउन सुरु भएयता दुधको खपत घटेपनि आयोजनाले मिल्क होलिडे नगर्नका लागि किसानसँग दुध खरिद गरेर दुधजन्य वस्तु उत्पादन गरेको थियो । पर्यटन क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको लकडाउनमा होटल खुल्न नसक्दा उत्पादन भएको सामाग्री बिक्री नै नभएको हो । लकडाउनकैमा सामाजिक संस्कारका विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम हुन पाएनन् । दैनिक ४० हजार लिटर दुध खरिद गरेर ७ हजार लिटर मात्रै खपत गरिरहेको आयोजनालाई अहिले उत्पादित दुधजन्य पदार्थ बिक्री नहुँदा समस्या परेको छ ।