विराटनगर । अत्याधुनिक भनिएको विराटनगर बुधनगरको एकीकृत जाँच चौकी(आईसीपी) को गोदाम घर उद्घाटन भएको छ महिना नबित्दै चुहिन थालेपछि निर्माण कम्पनिको कामप्रति प्रश्न उब्जिएको छ ।
उद्घाटन भएपछि सञ्चालनमा आएको छ महिना नबित्दै वर्षात्को प्रारम्भमै गोदाम चुहिएको हो ।
भारत सरकारले दिनेशचन्द्र आर अग्रवाल इन्फाकन कम्पनिलाई निर्माण जिम्मा दिएको आईसीपी गत माघका मात्रै नेपाललाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि नेपाल इन्टरमोडलले ट्रान्स नेपाललाई सञ्चालनको जिम्मेवारी दिएपछि गोदाम घर प्रयोगमा आएका थिए ।
सामान राखिएका इम्पोर्ट वेयर हाउस र एक्स्पोर्ट वेयर हाउसमै पानी चुहिएपछि ट्रान्स नेपालले शुक्रबार निर्माण कम्पनिका प्रतिनिधि र परामर्शदाता कम्पनिसँग छलफल गरेको छ । ट्रान्स नेपालका अध्यक्ष गणेश घिमिरेका अनुसार निर्माण कम्पनिले एकवर्षसम्म कुनै पनि संरचनामा समस्या देखिए निर्माण गर्नुपर्ने शर्त बमोजिम छलफल भईरहेको बताउनुभयो ।
भन्सारले गोदाम घरमा राखिएका सामान खराब भएको र निर्यात तथा आयातकर्ताले त्यसलाई इन्कार गर्ने अवस्था आएको भन्दै जिम्मेवारी लिनुपर्ने दवाव समेत दिदैं आएको छ । निजी कम्पनि ट्रान्स नेपालका अध्यक्ष घिमिरेले भने तत्काल गोदाम घरको मर्मत गराउनका लागि निर्माण कम्पनिसँग छलफल भईरहेको दावी गर्नुभयो ।
ठेकेदार कम्पनिका व्यवस्थापक इन्जिनियर अवधेश शाहले गोदाममा केहि त्रुटी देखिएकोले त्यसको मर्मत गरिने बताउनुभयो । गोदाम भित्र रहेका मालवस्तुको विषयमा आफ्नो जिम्मेवारी नहुने शाहको भनाई छ । गोदाममा विराटनगरका चारजना व्यवसायीको सामान रहेको बताइएको छ ।