विराटनगर । स्वास्थ्य क्षेत्रमा ख्याती कमाएको न्यूरो–कार्डियो अस्पताल सञ्चालकले विराटनगरमा शैक्षिक क्षेत्रमा समेत हात हालेको छ । विराटनगरको लर्डबुद्ध कलेजको स्वामित्व न्यूरो–कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले लिदैं शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।
नसा तथा मुटु रोगको जटिल शल्याक्रिया गर्ने पूर्वको ख्याती प्राप्त अस्पतालका अध्यक्ष डा. विरेन्द्रकुमार बिष्टको नेतृत्वले अब लर्डबुद्ध कलेज समेत सञ्चालन गर्नेछ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल, मदर एण्ड चाइल्ड हस्पिटल , न्यूरो हेल्थ कलेज डा.बिष्टकै नेतृत्वमा सफल रुपमा सञ्चालन हुँदै आएका संस्था हुन् । यूनिभर्सल लर्डबुद्ध अन्तर्गत सञ्चालित लर्डबुद्ध कलेजमा समेत लगानी विस्तार गर्दै यसको अध्यक्ष समेत शनिबार डा.बिष्ट नै हुनु भएको हो ।
लर्डबुद्धका निवर्तमान अध्यक्ष नितिनचन्द्र गजुरेलले डा.बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुने गरि लर्डबुद्धको स्वामित्व हस्तान्तरण गर्नु भएको थियो । लगतै कार्यकारी निर्देशकमा अनिषा विष्ट र प्रबन्धक निर्देशक राजेश भट्टराई सम्मिलित तीन सदस्यीय सञ्चालक समितिको घोषणा अध्यक्ष डा.बिष्टले गर्नुभएको थियो ।
विभिन्न संकायका शैक्षिक कार्यक्रम १६ वर्षदेखि सञ्चालन गर्दै आएको कलेज प्रदेश १ (तत्कालिन पूर्वाञ्चल)मा स्थापित मानिन्छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रको माध्यमबाट समाज रुपानन्तरणमा सहयोगी बन्नसक्ने अपेक्षा राख्दै निवर्तमान अध्यक्ष गजुरेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित शनिबार एक विशेष कार्यक्रमकाबीच स्वामित्व हस्तान्तरण गर्नुभयो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा भएको कार्यक्रममा मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रमा उल्लेख्य भूमिका र जिम्मेवारी पूरा गर्दै आउनु भएका डा.बिष्टको नेतृत्वले शिक्षा क्षेत्रमा समेत नयाँ फड्को मार्ने आशा व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता र माग रहेको बताउँदै त्यसलाई पूरा गर्न नयाँ कार्यसमितिलाई सफलताको शुभकामना समेत दिनु भएको थियो ।
कलेजका प्रवन्धक निर्देशक राजेश भट्टराईले प्रविधि र आधुनिक भौतिक संरचनामा कलेजलाई स्तरोन्नती गरेर अल्पकालिन र दिर्घकालिन योजनासहित अगाडी बढ्ने बताउनुभयो । स्वामित्व हस्तान्तरण तथा ग्रहण गर्ने कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, अस्पतालका निर्देशक इन्जिनियर रंजितराज बस्नेत, डा.रितिक विष्टसहितको उपस्थिति रहेको थियो ।