मोरङ प्रहरीले चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी, एक बर्षमा अपराधिक घटनामा कमि

मोरङ प्रहरीले चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी, एक बर्षमा अपराधिक घटनामा कमि

प्रेम देवान

विराटनगर । मोरङ प्रहरीले अपराध न्यूनिकरण गर्नको लागी चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी भएको छ । त्यही स्वीप अप्रेशनका कारण एक वर्षको अवधिमा समग्र अपराधिक घटनामा १६ प्रतिशतले कमि आएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को हालसम्म, अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधिक घटना कम भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा १ हजार ६९४ वटा मुद्दा दर्ता गरेको मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म, १ हजार ४१७ वटा मुद्दा दर्ता गरेको छ । एसपी विश्व अधिकारीको कार्यकालमा मोरङमा अपराधिक घटना कम भएको शनिबार पत्रकार सम्मेलनमा दावी गरिएको छ ।

पत्रकार सम्मेलनमा एक बर्षमा भएका गतिविधीबारे जानकारी दिदै मोरङका एसपी विश्व अधिकारी ।
तस्वीर / प्रेम देवान
चालु आर्थिक वर्षमा मोरङमा अभद्र व्यवहारमा ४४० मुद्दा दर्ता भएको अधिकारीले बताउनुभयो । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधीमा ६५५ वटा मुद्दा दर्ता भएका थिए । गतवर्ष १०३ चोरी सम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले चालु वर्षको यसै अवधीसम्म ८४ वटा मुद्दा दर्ता गरेको छ ।
यसैगरी चालु आर्थिक वर्ष बलात्कारका ९७ र बलात्कार प्रयासका ४४ घटना भएको मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा बलात्कारका ९७ वटा र बलात्कार प्रयासका ५४ वटा घटना भएका थिए । प्रहरीले जुवा ऐन अन्तर्गत १४ वटा मुद्दा गतवर्ष चलाएकोमा चालुमा सातवटा मात्रै चलाएको छ ।
कर्तव्य ज्यान, आत्महत्या, ठगी र लागुऔषध ओसारपसार लगायतका केही घटना भने बढेको तथ्याँकले देखाउँछ । गत आर्थिक वर्षमा १८९ जनाले आत्महत्या गरेका थिए । चालु वर्ष यो संख्या बढेर २१३ पुगेको छ । लागुऔषध सम्बन्धी १६५ मुद्दा गतवर्ष चलाएको प्रहरीले चालु वर्ष १७३ मुद्दा चलाएको छ ।
पत्रकार सम्मेलनमा एसपी अधिकारीले गत वर्ष १६ वटा हत्याका घटना भएकोमा चालु आर्थिक १७ वटा घटना भएको सार्वजानिक गर्नुभयो । ठगीका ११ वटा घटना गत वर्ष भएका थिए, यसवर्ष यो संख्या १९ पुगेको छ ।
विभिन्न अपराधिक घटनामा संलग्न १ हजार २५९ पुरुष र ९१ जना महिलालाई पक्राउ गरेर मुद्दा चलाइएको जानकारी अधिकारीले दिनुभयो । प्रहरीको सक्रियता, विभिन्न अभियान, नागरिक–प्रहरी सम्बन्ध सुधारका लागि गरिएका सचेतनामुलक एवं नागरिक मैत्री कार्यक्रमका कारण अपराधिक घटनामा कमि आएको जानकारी दिइएको छ । नागरिक–प्रहरी सम्बन्ध सुधारकै कारण समाजमा भएका अपराधिक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता पनि मिलेको उहाँको भनाइ छ ।
त्यस्तै अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइए पनि फरार रहेका प्रतिवादी पक्राउमा प्रहरीले ठूलो सफलता हात पारेको छ । एसपी अधिकारीले मुलुकका अन्य जिल्लामा भन्दा मोरङमा धेरै प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिनुभयो । मुलुकभर हालसम्म २२३ प्रतिवादी पक्राउ परेका छन् । मोरङमा मात्रै ४४९ जना पक्राउ परेको उहाँको भनाई छ ।

फरार प्रतिवादीलाई पक्राउ गरेर एक सय १२ वर्ष दुई महिना १६ दिन कैद र ४१ लाख ७८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गरिएको अधिकारीले जानकारी दिनुभयो । उहाँले चोरी, तस्करी, गुण्डागर्दी र विभिन्न अपराधिक घटना नियन्त्रणका लागि मोरङमा स्वीप अप्रेशन चलाइएको दावी गर्नुभयो । स्वीप अप्रेशनका क्रममा ३०० लाई नियन्त्रणमा लिएर २८८ जनालाई स्क्रिनिङ गरिएको थियो ।
प्रहरीले एक वर्ष अवधिमा जिल्ला भरीबाट २० हजार तीन सय ९५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । त्यस्तै मदिरा बनाउन प्रयोग गर्ने १४ हजार १५० लिटर कच्चा पदार्थ र ५३० बोतल नक्कली रक्सी बरामद गरेको छ ।
एसपी अधिकारीले आफ्नो कार्यकालमा प्रतिबन्धित विप्लव समूहका मेची–कोसी ब्यूरो संयोजक, सचिव, जनपरिषद् प्रमुखसहित २१ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो । एक वर्षको अवधिमा पाँचवटा अटोम्याटिक पेस्तोल, पाँचवटा कटुवा पेस्तोल, आठवटा भरुवा बन्दुक गरेर १८ वटा हतियार र छ वटा म्यागजिन तथा २६ राउण्ड गोली बरामद गरिएको छ ।

पत्रकार सम्मेलनपछि मोरङका पत्रकारहरुसँग सामुहिक तस्वीर खिच्दै मोरङ एसपी अधिकारी ।
तस्वीर : प्रेम देवान
मोरङमा वर्ष दिनभरीमा लागुऔषध विरुद्धका तीन सय नौवटा कार्यक्रम सञ्चालन गरिएको छ । चोरी भएका मध्ये एक सय ८३ वटा मोबाइल, ७५ वटा मोटरसाइकल र १५ वटा साइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी अधिकारीको दावी छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा अब्बल रहेको भन्दै मोरङ प्रहरीलाई विभिन्न संघ संस्थाले सम्मान पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्