विराटनगर । आज आषाढ कृष्ण औँसीका दिन लागेको खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण सकिएको छ । बिहान १०ः५० बजे स्पर्श गरेको ग्रहणले मध्याह्न १२ः३८ बजे मध्ये भएर अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गरेको हो ।
विराटनगरबाट अनिसभक्त जोशीले सूर्यग्रहण लागेको बेला खिच्नुभएको तस्वीर ।
तीन घण्टा ३३ मिनेट लामो नेपालका विभिन्न प्रदेश तथा स्थानबाट हेरिएको छ । अधिकांशले सुरक्षात्मक उपाय अपनाएर आइतबार ग्रहण अवलोकन गरेका थिए । वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीको भनाइ थियो ।
शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको थियो । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबारको ग्रहण नेपालसहित कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देखिएको छ ।