विराटनगर । चार दिन अगाडी मात्रै मोरङको प्रहरी प्रमुखमा सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्तोष खड्काले भारतसँग सीमा जोडिएको मोरङलाई फरक ढंगले नियाल्ने बताएका छन् ।
प्रदेश राजधानी विराटनगर र ६३ किलोमिटर सीमा जोडिएको मोरङ जिल्लामा शान्ति सुरक्षा स्थापनामा आफ्नो टिमले चाल्ने कदममा कसैले पनि औंला ठड्याउन नसक्ने कार्यसंपादन हुने उनले बताएका हुन् ।
वातावरण नै त्यहि बनाउँछु, एसपी खड्काले शनिबार बिहान राखेको पत्रकार भेटघाट कार्यक्रममा विश्वास व्यक्त गर्दै भने अपराध नियन्त्रण, अनुसन्धान र कानुनी दायराको विषयमा कसैसँग सम्झौता हुनेछैन । शान्ति सुरक्षालाई मजवुत राख्न प्रहरीमाथि पनि कसैले प्रश्न राख्ने ठाउँ हुनेछैन, एसपी खड्काको भनाई थियो– कानुनी व्यवस्थाको अधिनमा रहेर असल शासन स्थापित गर्ने गरी प्रहरीको पहिलो कर्तव्य हुनेछ ।
मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उनको भनाई थियो । विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहन्छ, प्रदेश राजधानी समेत भएकोले अन्तर्राष्ट्रिय नजर पर्छ, सुरक्षामा सजकता अपनाउने छौं ।
सुरक्षा सवालमा खडा हुने जुनसुकै चुनौतीलाई पनि पार लगाउँदै ऐन कानुनले निर्देशित गरेअनुरुप अघि बढ्ने उनको प्रतिवद्धता छ । समाजलाई असर गरिरहेका कुरा र त्यसले भोलिका दिनमा ल्याउन सक्ने समस्यालाई मध्य नजर गर्दै प्रहरीले काम कारबाही अघि बढाउने खड्काले बताए ।
अनुसन्धान थाती रहेका पुराना अपराधिक घटनाका फायल पल्टाएर आफ्नो कार्यकालमा सबै खालका अनुसन्धान पूरा गर्नेतर्फ पनि केन्द्रीत हुने उनको भनाइ टल छ । मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा पूरा गर्ने उनको अठोट छ । आफ्नो सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चने खड्काले बताए ।
मोरङमा सरुवा भई आउने प्रायः एसपीहरुले सुरुका दिनमा अति कडाई देखिने र सरुवाको समय आउँदै गर्दा अति नरम देखिने गरेका कारण आउँदा हाईहाई हुने भएपनि फर्कने बेलामा आलोचना खेप्नुपर्ने अवस्था रँहदै आएको छ ।