गलैंचामा कोरोना असर : एक अर्ब २५ करोडको उद्योग बन्द

गलैंचामा कोरोना असर : एक अर्ब २५ करोडको उद्योग बन्द

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा एक अर्ब २५ करोडको लगानीमा साढे तीनवर्ष अगाडी खुलेको हाइटेक कार्पेट (गलैंचा) इन्डस्ट्री बन्द भएको छ । कोरोना संक्रमणपछि गलैंचा बजारमा आएको मन्दिका कारण उत्पादन सुरु भएको साढे तीनवर्षमा गलैंचा उद्योग बन्द भएको हो ।


नेपालकै सबैभन्दा ठूलो लगानीमा उद्योग सञ्चालनमा आएको थियो । विराटनगरका उद्योगीहरु एकेराठी समूह र सुनिल टिवडेवालको साझेदारीमा उद्योग खुलेको थियो । बजारमा माग नभएपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरुको दावी छ ।
उद्योगलाई दुई महिनाका लागि अफमा लगिएको सञ्चालक अनुपम राठीले जानकारी दिएका छन् । उनले भने सञ्चालनमा हुँदा स्थायी कामदारलाई आधा तलव खुवाउनु पर्छ, राठीले भने–ट्रेड यूनियन संघ परामर्श गरेर बन्द गर्ने निष्कर्षमा पुग्यौं । बन्द भएपछि उद्योगका स्थायी २८ कामदारले आधा तलब पाउने छन् । तर, दैनिक ज्यालादारी र अस्थायी ८० कामदार तत्काललाई बेरोजगार भएका छन् ।

भारतको हैदरावाद, बैङ्गलूरु, नयाँ दिल्ली, गुवाहटी र सिलिगुडीसम्म आईटेकका उत्पादन निर्यात हुन थालेका थिए । त्यस्तै नेपालका प्रमुख शहरमा यसको माग उच्च रहेको थियो । उद्योगी अनुपमका अनुसार नेपालमा घरघरमा पुगेर गलैँचा विक्री गर्नेहरू २ हजारको सङ्ख्यामा छन् । त्यसमध्ये काठमाडौंमा मात्र ७ सय छन् र बाँकी देशका मुख्य शहरमा । कोरोना प्रकोपका कारण २ हजार विक्रेता नै अहिले घरमा छन् ।


नेपालका जुम्ला, कालीकोट, धनगढी, डँडेलधुरा, पाँचथर र इलामका बिक्रेता यस्तो काममा बढी सहभागि थिए । पहाडमा रोपाइँ सकेर खालि समयमा मधेस झर्ने र गलैँचा विक्री गर्ने उनीहरूको मुख्य पेशा हो । यो देखेर तराई मूलका केही व्यक्तिले पनि गत वर्षदेखि गलैँचा विक्री गर्न थालेका थिए । उनीहरू जाडोमा कम्बल र गलैँचा तथा गर्मी महिनामा गलैँचा मात्र विक्री गर्थे । यस्ता विक्रेता यस पटक कोही आएनन् ।
राठीले मुस्लिमहरूको चाड रमजान गलैँचा विक्री हुने एउटा मुख्य सिजन भएपनि यस पटकको माग नभएको बताए । मस्जिदमा सामूहिक प्रार्थनाका लागि गलैँचा खरिद गर्ने उनीहरुले यसवर्ष घरमै बसेर प्रार्थना गरेका थिए । महामारीका बेला गलैँचा दैनिक उपभोग वा मुख्य आवश्यकताको वस्तु नहुँदा माग नभएको हो ।


चार महिनायता उद्योगबाट एक पिस पनि गलैँचा विक्री नभएको उल्लेख गर्दै अनुपमले २५ करोड मूल्यका तयारी गलैँचा स्टकमा रहेकोले माग भए त्यहि पठाउने योजना रहेको बताए । यससँगै थप २५ करोड बराबरको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ थन्किएको छ । भारतका बजारमा गलैँचाको मुख्य सिजन भनेको अक्टोबरदेखि फरबरीसम्म मात्र हो । त्यसैले अब अहिले निकासी हुन सक्ने अवस्था छैन । उद्योगको क्षमता प्रतिदिन ५ हजार वर्गमिटर गलैँचा उत्पादनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्