कविता : ह्याप्पी बर्थ डे – भुवन कुमार वाग्ले

कविता : ह्याप्पी बर्थ डे – भुवन कुमार वाग्ले

ह्याप्पी बर्थ डे डियर
मेनी मेनी ह्याप्पी रिटर्न्स अफ दि डे
मे लर्ड शिव सावर व्लेसिङ्स ओभर यु,
तिमी ती नाजुक वेलुनहरूमा
आशाको हावा फूक,
दिमागका क्लेश कागजको चुच्चे टोपीले छोप,
डढेलो लगाउने ठिक्क परेका मैनवत्तीहरु निभाउ
भाग्यको दौडले तिम्रा भागमा पारेको
तिम्रो खुशीको केकको थुप्रो काटेर वांड ।
म पनि त्यही भीडमा पसेर ताली वजाउंला
गीत गाउंला, भोज खांउला,
तिम्रा खुशीहरुको शर्वत
मेरै मानेर वेस्सरी पिउंला र नांचौला
प्यारो साथी
जन्मदिनको शुभकामना-
*******

नसोध मलाई
मेरो जन्मदिन कसरी मनाउंछौ भनेर
म त ध्यानमग्न हुन्छु सम्झदै
ती लामा(लामा ऐठनका काला रातहरु
ती निन्द्राले वसीभुत निष्क्रिय फुस्रा दिनहरु
अनि तिनीहरुसंगै साटिदिन मन लाग्ने
छोटा छोटा अद्भुत आनन्दका छटाहरू
मुर्त अमुर्त चित्रहरू कोर्दै
घुमिरहेका सेकेन्ड मिनेट र घण्टाका सुईहरु
पल्टिरहेका क्यालेण्डरका पन्नाहरू,
फुल र भंवराहरुको मधूमास
धर्तीले नूहाउने झरी र आंग सूकाउने हेमन्त शरद
कठ्याङ्ग्रिएर मीनपचासमा
दुला पसेको जीन्दगानी
घुमिरहेको पृथ्वी त्यसको वरिपरि घुमिरहेको अस्थिर चन्द्रमा
र यी डल्लाहरुले घुमिरहेको
उदाउंदो र अस्ताउंदो भगिरथ सुर्य
आंसुमा चोपलिएका खुशीहरुको अनमोल वर्ष
अलिक पाकेको मन
अलिक छिप्पिएको वय
सबै फरक तर उस्तै,
सबै उस्तै तर फरक
मैले गर्भधारण गरेका,
प्रसव पीडा भोगेर जन्माएका,
तर सास फेर्न नसकि
खेर गएका मेरा सपनाहरुको चिता
पखाल्न मन लाग्छ मेरा आँसुहरुले
फोस्सामा काल एक खुड्किलो चढेको देखेर
म त विश्रान्तिका वा आमाहरुको काखमा रुन्छू,
असार पन्ध्रमा वादल रोए झै
मेरा सुन्दर कल्पगणनाहरुको अवसान सम्झाउने
मेरो जन्मदिनमा
*******

तर तिमी ती नाजुक वेलुनहरूमा
आशाको हावा फूक,
दिमागका क्लेश कागजको चुच्चे टोपीले छोप,
डढेलो लगाउने ठिक्क परेका मैनवत्ती निभाउ
भाग्यको दौडले तिम्रा भागमा पारेको
तिम्रो खुशीको केकको थुप्रो काटेर वांड
म पनि त्यही भीडमा पसेर ताली वजाउंला
गीत गाउला, भोज खांउला,
तिम्रा खुशीहरुको शर्वत
मेरै मानेर वेस्सरी पिउंला र नांचौला ।
मेरो उपहार यही कविता
ह्याप्पी बर्थ डे डियर,
मेनी मेनी ह्याप्पी रिटर्न्स अफ दि डे
मे लर्ड शिव सावर व्लेसिङ्स ओभर यु ।
*******

भुवन कुमार वाग्ले
विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्