ब्याडमै धानको बेर्नामा मरुवा

ब्याडमै धानको बेर्नामा मरुवा

विराटनगर । मरुवा रोगको प्रकोप बर्खे ब्याडमा राखिएको धानको बेर्नामा देखिएपछि पूर्वका किसान चितत् बनेका छन् । धान रोप्ने बेलामा देखिएको मरुवा रोगले किसानलाई चिन्तित् बनाएको हो ।
प्रदेश एकको मुख्य बालीको रुपमा रहेको धानको खेतिमा झापा र मोरङका विभिन्न स्थानमा लगाइएको चैते धानमा यस अगाडी रोगको प्रकोप देखिएको थियो । जसका कारण धानबालिको उत्पादनमा समस्या पारेको थियो ।


बर्खे धान रोप्ने बेलामा ब्याडमा राखिएको बेर्नाम समेत उस्तै समस्या दोहोरिएपछि किसानसँग बालि विज्ञलाई समेत चिन्तामा पारेको छ । प्रदेश कृषि निर्देशानालयका सूचना अधिकृत सरस्वती श्रेष्ठका अनुसार फाट्टटफुट्ट यस अगाडी चैते धानमा देखिएको मरुवा अहिले धानको बेर्नामा समेत देखिरहेको छ ।
यस अगाडी मोरङको उर्लाबारी नगरपालिका दुर्गापुरीका किसान ताराबहादुर कार्कीको १५ कठ्ठा क्षेत्रफलको धान मरुवाले सखाप पारेको थियो । धानका बालामा भुसमात्रै लागेपछि बीउ समेत बचाउन मुस्किल पारेको थियो ।

चैते धानमा देखा परेको यो रोग यतिबेला बर्खे धानको बेर्नामा समेत देखा परेपछि चाँहि चिन्ता बढाएको छ । मोरङ रतुवामाइका किसानहरुको बिउमा अहिले यो रोग देखा परेको छ । स्थानीय कृषक रामप्रसाद भण्डारीले दुइ बिघा खेतका लागि राखेको बिउको बेर्नामा समेत रोगको प्रकोप देखिएको सूचना अधिकृत श्रेष्ठले जानकारी दिएकी छिन् ।
बेर्नामै रोग देखिएपछि राम्रो–राम्रो छानेर रोपेका भण्डारीले फसल नलाग्ने चिन्ताले सताएको बताउँदै आएका छन् । रतुवामाइमा कृषि सहकारी संस्थाले वितरणले गरेको ४० क्वीन्टल स्वर्ण र रन्जीत धानको बिउमा रोगको प्रकोप बढी देखिएको हो । रोगका कारण कतिपय किसानहरुले राखेको बिउको ब्याडनै सखाप समेत भएको छ । रोग नलागेका बिउमापनि रोपीसकेपछि रोगको प्रकोप देखिन थालेको गुनासो गरिएको छ ।
यो रोग खासगरी बादल लागेर धुम्मिएको मौसम र धेरै वर्षात भएमा लाग्ने गरेको बालि विज्ञहरुको दावी छ । हावा तथा बिउको माध्यमबाट छिटो फैलने गरेका कारण यसलाई समयमै रोक्नुपर्ने हुन्छ । यसको समस्याबाट जोगिन रोगमुक्त स्वस्थ बिउको प्रयोग नै उत्तम उपाय हुने बाली संरक्षण प्रयोगशालाले जनाएको छ । खेतमा रोपिसकिएको धान खेतमा नियमित पानी पनि जम्न दिन नहुने अर्को उपाय भएको बालि संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादव बताउँछन् ।


उनका अनुसार रोग लागेमा धानको पात, आँख्ला वा दानामा कालो थोप्लाहरु देखिन्छ । रोगको संक्रमण आँख्लामा देखा परेमा धानका बालाहरु भाचिने गर्दछन् । यसलाई घाँटीको मरुवा भनिन्छ । यो रोगको बैकल्पीक बासस्थान भनेको बन्सो, दुबो, सामा जस्ता झारहरु भएकोले यस्ता झारहरु मार्नुपर्दछ । अघिल्लो बालीका ठुटा, पराललाई पनि खेतमा जलाउनु उपयुक्त हुने दावी विज्ञहरुल्को छ ।
नाइट्रोजनयुक्त मलको बढी प्रयोगले विरुवाको वनस्पातिक बृद्धि भइ रोगले सजिलै आक्रमण गर्ने हुँदा माटो परीक्षण नतिजाका आधारमा सन्तुलित मात्रामा मात्रै मलखाद्यको प्रयोग गर्नका लागि बालि संरक्षण विज्ञको सुझाव छ ।

धानको बिउ राख्नु पूर्व रसायनीक वा घरेलु प्रविधिको प्रयोग गरेर बिउ उपचार बिधि अपनाउदा पनि रोगको प्रकोपबाट बच्न सकिने प्रमुख यादवले बताएका हुन् । यसकालागि कार्बेन्डाजिम, क्यापटान वा ट्राइसाइक्लाजोल जस्ता विषादीको प्रयोग समेत गर्न सकिने उहाँको भनाई छ ।
प्रदेश १ मा गत आइतबारसम्म २१ प्रतिशत रोपाँई सकिएको निर्देशानालय सूचना अधिकृत श्रेष्ठले जानकारी दिएकी छिन् । यो साताभरी नै रोपाँईका लागि उपयुक्त समय भएकोले शनिबारसम्ममा ५० प्रतिशत भन्दा माथि रोपाँई भएको दावी गरिएको छ । यसको विस्तृत विवरण आइतबार (आज) सार्वजानिक गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्