विराटनगर । विराटनगरबाट विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने २ जना गिरोह सहित ५ वटा मोटरसाईकल र एउटा स्कुटी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरेको आरोपमा मोरङ प्रहरीले विराटनगर १७ का १७ बर्षीय मोहम्मद सोयल आलम र सोहि स्थानका २४ बर्षीय नौसाद अन्सारीलाई रंगेहात पक्राउ गरेर सार्वजनिक गरेको हो ।
चैत्र २६ गते विराटनगर–७ अस्पताल चोकबाट कटहरी गाउँपालिका–१ निवासी दुलाचन्द पोदारको प्र.१–०२–०४१ प ०३४० नम्बरको होन्डा सिबी साइन मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि गरिएको थप अनुसन्धानमा चैत्र २७ गते विराटनगर–१५, नेपाल–भारत सीमा क्षेत्रको दरैया र टिकुलियाबाट थप ५ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरिएका ब्यक्तिसहित बरामद मोटरसाईकलहरु बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
मोटरसाईकल चोरी गर्ने गिरोहले अस्पताल, होटल, अदालत, मालपोत कार्यालय लगायत भीडभाड हुने स्थानहरूको पार्किङमा राखिएका मोटरसाइकलहरुमा मास्टर की प्रयोग गरी चोरी गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको मोरङ प्रहरी प्रवक्ता वेद प्रकाश जोशीले बताउनुभयो । विराटनगर लगायत आसपासका गाँउपालीकाहरुबाट चोरी गरिएका मोटरसाइकलहरू सिमावर्ती भारतीय बजारमा लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाईएको जोशीले पत्रकार सम्मेलनमा बताउनुभयो ।
चालु आर्थिक बर्षको साउनदेखी मंसिरसम्म मोरङमा ६० वटा मोटरसाईल चोरीको घटना दर्ता हुन आएको जिल्ला प्रहरीले जनाएको छ । उक्त संख्यामा ४ वटा मोटरसाईकल मात्र बरामद भएको जनाईएको छ । मंसिर महिनामा प्रहरीले मोटरसाईकल चोरी गिरोहका नाईके नजाम अंसारीलाई पक्राउ गरेको थियो । उनि पक्राउपरि थुनामा गएपछि केहि महिना चोरी मत्थर भएपनि चैत महिनामा एकाएक चोरी बढेको पाईएको छ । चैत महिनामा मात्र ११ वटा थप मोटरसाईकल चोरी भएको पाईएको छ । फेरी चोरी बढेपछि प्रहरीले सक्रियता बढाएको थियो ।
विशेषगरी सुपर स्प्लेन्डर, होण्डा साइन र डिस्कभर जस्ता मोटरसाइकलहरू बढी चोरी हुने गरेको प्रहरीको तथ्यांकमा देखिन्छ । पछिल्लो समय चोरहरुले नयाँको साटो पुरानो मोटरसाईकलहरुलाई बढी टार्गेट गर्ने गरेको पाईएको छ । लक खोल्न सजिलो हुने भएकाले चोरले पुरानो मोटरसाईकलहरुलाई टार्गेट गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको छ ।