विराटनगरको म्याक्स अस्पतालले गैरकानुनी रुपमा कोरोना जाँच गर्ने गरेको खुलसा

विराटनगरको म्याक्स अस्पतालले गैरकानुनी रुपमा कोरोना जाँच गर्ने गरेको खुलसा

विराटनगर । विराटनगरमा रहेको म्याक्स इन्टरनेशनल अस्पतालले गैरकानुनी ढंगबाट कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्दै आएको खुलेको छ । अस्पतालले सरकारको कुनैपनि निकायबाट स्वीकृति नलिईकन सेवाग्राहीबाट नमूना संकलन गरी कोरोना संक्रमणको परीक्षणको नाममा रकम असुल्ने गरेको हो ।

अस्पतालले प्रतिव्यक्ति दुई हजार रुपैँया शुल्क लिएर आरडीटी विधीबाट कोरोना भाईरस संक्रमण भए नभएको परीक्षण गरेर रिपोर्ट दिने गरेको देखिएको छ । सरकारले निजी अस्पताल तथा ल्याबहरुलाई पीसीआर तथा आरडीटी कुनैपनि विधीबाट व्यक्तिमा कोरोना संक्रमण भए वा नभएको परीक्षण गर्ने अनुमति दिइएको छैन । तर, म्याक्स अस्पतालले इमरजेन्सी विभागको प्रेसक्राइभ प्याड प्रयोग गरेर कोरोना परीक्षणको रिपोर्ट दिइएको हो ।

सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.जयबेन्द्र यादवको लगानीमा म्याक्स अस्पतालमा ल्याब सञ्चालनमा छ । तर, डा.यादवले वा यादवको ल्याबले परीक्षण गरिएको भने देखिएको छैन । म्याक्स अस्पतालको प्रेसक्राइभ प्याड प्रयोग गरिएको र त्यसैमा रिपोर्ट समेत लेखिएको छ ।
डा.यादवको लगानीमा रहेको ल्याबले नै नागरिकसँग रकम असुलेर आरडीटी विधीबाट कोरोना भाईरस संक्रमणको परीक्षण गर्दै आएको विषय भने विवादित बनेको छ । विराटनगरका धेरै निजी अस्पतालहरुले कोरोना परीक्षण प्रतिवेदन भित्रभित्रै दिईरहेको समेत योसँगै प्रष्ट भएको छ ।
म्याक्स अस्पतालले पछिल्लो १५ दिनयता व्यक्तिमा कोरोना भाईरस संक्रमण भए वा नभएको परीक्षण रिपोर्ट दिदैं आएको दावी छ । म्याक्स अस्पताल भित्र ल्याब सञ्चालनमा रहेको भनिएका प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.यादवले भने आफ्नो कुनै संलग्नता नरहेको र त्यो परीक्षण रिपोर्ट आफ्नो ल्याब वा आफूले दिएको भनि प्रमाणित हुन नसक्ने दावी गरेका छन् ।

काठमाण्डौं प्रवेशका लागि आरडीटी परीक्षणको रिपोर्ट अनिवार्य गरिएसँगै विराटनगरका निजी अस्पतालले परीक्षण गरेको रिपोर्ट व्यक्तिको माग अनुसार दिने गरेका हुन् । डा.यादवका अनुसार सरकारले बीचमा एक पटक निजी अस्पताललाई समेत परीक्षण गर्न दिने घोषणा गरेको भन्दै सञ्चारमाध्यममा आएको थियो । त्यहि बखत कतिपय निजी अस्पताल तथा ल्याबहरुले परीक्षणका लागि आवश्यक सामाग्री मगाएका थिए । पछि सरकारले त्यो निर्णय सच्याएसँगै खरिद गरिसकेका सामाग्रीको प्रयोग निजी अस्पताल गरिरहेका हुन् ।

डा. यादवले एक वर्षयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत रहेको र कोरोना संक्रमणसँगै आफूले खेल्नुपर्ने भूमिकामा रत्तिभर पनि कमजोरी नगरि तोकिएको जिम्मेवारी पूरा गरिरहेको बताएका छन् । उनले सरकारले तोके बमोजिमका कामका लागि २४ घण्टा समय दिईरहेको कर्मचारीको नाम जोडेर बद्नाम गराउँदा न्याय नमिल्ने गुनासो गरे ।

म्याक्स इन्टरनेशनल अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले कोरोना जाँच गर्ने काममा अस्पतालका अन्य कर्मचारी तथा स्वास्थ्यकर्मीले गम्भीर कमजोरी गरेको बताएका छन् । उनले अस्पतालको लेटर प्याडमा परीक्षण रिपोर्ट दिनुले त्यसको जिम्मेवारी अस्पतालले नै लिने बताएका हुन् । अस्पताल भित्रको ल्याबको लेटरप्याड प्रयोग गरिनुपर्नेमा अस्पतालको आकस्मिक विभागको लेटरप्याड प्रयोग गरिएको छ, त्यसमा मेरो कमजोरी कसरी औल्याउन सकिन्छ डा. यादवले भने–मैले त्यो ल्याबमा पुगेर काम गर्ने अवस्था छैन ।
अस्पताल प्रशासनले त्यस विषयमा अनुसन्धान समेत गरेको थियो । त्यस क्रममा अस्पतालमा कार्यरत कर्मचारीका आफन्तलाई काठमाण्डौं छिर्न सहज होस् भन्ने हिसाबले आरडीटी रिपोर्ट दिएर अर्को लापरवाही गरेको देखिएको छ ।

यता प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले गैरकानुनी रुपमा परीक्षण गर्नेहरुको विषयमा अध्ययन गरिने बताएका छन् । उनले कुनैपनि निजी अस्पतालको रिपोर्ट मान्यता प्राप्त हुननसक्ने बताउँदै त्यसमा भर नपर्न आम नागरिकसँग आग्रह समेत गरेका हुन् । मन्त्री घिमिरेले प्रदेश सरकार मातहत रहेको ल्याबका प्रमुखको कमजोरीको विषयमा बुझ्ने दावी गरेका छन् । प्रदेश १ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना जाँच हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्