विराटनगरमा श्रम स्वीकृति लिन आएका सेवाग्राही त्यसै फर्किए

विराटनगरमा श्रम स्वीकृति लिन आएका सेवाग्राही त्यसै फर्किए

विराटनगर । श्रम तथा रोजगार कार्यालयले समयमै सूचना सम्प्रेषण नगरेका कारण आइतबार सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
बैदेशिक रोजगारबाट विदामा घर आएकाहरुलाई सात वटै प्रदेशबाट आइतबारदेखि पुनः श्रमस्वीकृती दिनका लागि श्रम विभागले निर्देशन दिएको थियो । तर, प्रदेश १ विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयले आवश्यक जनशक्ति र स्वास्थ्य सुरक्षाको प्रवन्ध नभएको भन्दै सेवाग्राहीलाई लकडाउनपछिको पहिलो दिनमै सेवाबाट बन्चित गरेको हो ।


विदेशबाट आएका व्यक्तिहरुलाई कोरोना भाइरस (कोभिड–१९) परीक्षण स्वास्थ्यसम्बन्धी प्रोटोकल समेतको आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार व्यवस्थापन शाखाले असार २१ गतेदेखि पुनः श्रमस्वीकृति प्रदान गर्न ७ वटै प्रदेशलाई गत बिहीबार परिपत्र गरेको थियो । केन्द्रको निर्देशन अनुसार प्रदेश १ श्रम कार्यालय विराटनगरबाट श्रम स्कीकृती सम्बन्धी काम अघि नबढाउँदा सास्ती भोग्नु परेको तेह्रथुमबाट विराटनगर आएका सेवाग्राही रविन बस्नेत गुनासो गरेका छन् ।

श्रम स्वीकृती खुल्ला गरेको सूचना थाहा पाएर विराटनगरसम्म आएका बस्नेतलाई कर्मचारी अभाव र कोरोनाको स्वास्थ्य सुरक्षा प्रोटोकल व्यवस्थापनको समस्या देखाउँदै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयले सेवा दिन नमानेको हो । रोजगारीका लागि फर्कनुपर्ने बाध्यता रहेका कारण २० हजार रुपिँयामा एम्बुलेन्स रिजर्भ गरेर उनी विराटनगर आईपुगेका थिए ।

मेचिनगर १० झापा धुलाबारीबाट आएका अर्का सेवाग्राही रमेश बाँस्तोलाले नेपाल सरकारबाट दिएको सूचनाको आधारमा आएपनि विराटनगर आउँदा सेवा दिन नसक्ने बताएको गुनासो गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार व्यवस्थापन शाखाले संक्रमणका कारण चैत २९ गतेबाट श्रमस्वीकृतीको सबै काम गर्न रोक लगाएको थियो । तर, लकडाउन खुकुलो हँुदै गएपछि आइतबारबाट पुनः श्रमस्वीकृती दिने भनिएको हो । सरकारको सूचनालाई आधार बनाएर आएका सेवाग्राही भने रित्तै फर्कनु परेको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य सम्बन्धी प्रोटोकल र पर्याप्त कर्मचारी अभाव भएकोले तत्काललै सेवा सुचारु गर्न नसकेको बताएका छन् । श्रम कार्यलय विराटनगरमा झापा, खोटाङ, सुनसरी, तेह्थुम तथा पाँचथर लगायतका जिल्लाहरुबाट २ सयभन्दा बढी सेवाग्राहीहरु आइतबार नै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्