सडक आश्रित मानवका लागि मानव सेवा ग्राम निर्माण गरिने

सडक आश्रित मानवका लागि मानव सेवा ग्राम निर्माण गरिने

विराटनगर । प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो ।
बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकबिहीन सडक आश्रित मानवहरुको उद्धार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको सेवाका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्ने तयारी गरेको हो ।
प्रदेश सरकारले सो सेवा आश्रमका लागि आगामी आर्थिक वर्षमा १ करोड वजेट छुट्याएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । चालु आर्थिक वर्ष भित्रमै निर्माण कार्यको थालनी गर्ने गरि मन्त्रालयले सहयोगी संस्थाहरुसँगको छलफललाई अघि बढाएको छ ।
सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्धार कार्यमा अहिले मानव सेवा आश्रमले कार्य गरिरहेकाले सोही संस्था लगायतका सहयोगी संस्थाहरुसँग मन्त्रालयले छलफल अघि बढाएको मन्त्री घिमिरेले बताएका छन् । प्रदेश १ मा सडक आश्रितहरुलाई उद्धार गरि सडक मानवमुक्त बनाउने अभियानमा सरकार अघि बढेको मन्त्री घिमिरेको दावी छ । प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा सुविधा सम्पन्न सेवा आश्रम निर्माण गरिने लक्ष्य रहेको बताए ।
प्रदेश १ मा मानव सेवा आश्रमले सडक आश्रित ५० जनालाई उद्धार गरिसकेको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । कास्कीको पोखरामा प्रदेश सरकारसँगको सहकार्यमा ३ सय क्षमताको सुविधा सम्पन्न मानव सेवा आश्रम निर्माण कार्य शुरु भएको बताएका हुन् ।
१० वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम शुरु भएको अधिकारीले दावी गरेका छन् । मानव सेवा आश्रमले ७ वटै प्रदेशमा १९ वटा केन्द्र मार्फत सेवा दिईरहेको उनको भनाई छ । देशभरीमा अहिले सम्म १ हजार २ सयलाई सेवा दिईएको अधिकारीले जानकारी दिएका हुन् ।
सहयोगापेक्षी, सडकआश्रित मानवहरुका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्नु राम्रो पक्ष भएको अधिकारकर्मी मञ्जिता उपाध्यायले बताइन् । प्रदेश सरकारले छिटो आश्रम निर्माण गरि सेवा शुरु गर्नुपर्ने उहाँको सुझाव छ । अहिले भाडाको घरबाट मानव सेवा आश्रमले सेवा दिईरहेका कारण खर्च बढेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्