मोरङसहित देशका विभिन्न भागमा आजदेखि चार दिन वर्षकै धेरै पानी पर्ने अनुमान

मोरङसहित देशका विभिन्न भागमा आजदेखि चार दिन वर्षकै धेरै पानी पर्ने अनुमान

विराटनगर । आज (बिहीबार) देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि असार २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्नसक्ने भएकोले सावधानी अपनाउनु पर्नेछ ।

वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाउन सक्ने अनुमान गरेको हो । पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदीमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ । खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गरिएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा पनि छ ।
प्राधिकरणका अनुसार ठूला नदी नालामा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नंं. ११४९ उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्