प्रदेश एकमा स्वाबको नतिजा ४८ घण्टा भित्रै, संक्रमितमा युवाको संख्या बढी

प्रदेश एकमा स्वाबको नतिजा ४८ घण्टा भित्रै, संक्रमितमा युवाको संख्या बढी

विराटनगर । प्रदेश १ का तीनवटा प्रयोगशालाले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको संभावित जोखिममा रहेका नागरिकको परीक्षणका लागि संकलन गरिएको स्वाबको नतिजा ४८ घण्टा भित्रै सार्वजानिक गर्ने गरेका छन् ।
प्रयोगशाला क्षमता बृद्धि गरिएसँगै परीक्षणका लागि संकलित नमूनाको ७२ घण्टा नबित्दै नतिजा आउने गरेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा.जयबेन्द्र यादवका अनुसार शुक्रबार वीपीमा ४६८, कोशीमा २५० र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि १०० सय नमूना परीक्षणको लाइनमा छन् । बुधबार संकलन गरिएका पहाडी क्षेत्रका र बिहीबार संकलन गरिएका तराई तथा सुगम पहाडी जिल्लाहरुका यी नमूना हुन् ।
कोशी, वीपी र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट बिहीबारसम्म २९ हजार १०९ जनाको स्वाब नमूना संकलन गरिएकोमध्ये परीक्षण नतिजा सार्वजानिक भईसकेको छ । यीमध्ये ७०४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ । संकलित नमूनामध्ये २८ हजार ४०५ जनामा कोभिड–१९ नेगेटिभ देखिएको छ ।
फस्ट कम फस्ट टेस्ट विधीमा प्रयोगशालाहरु नतिजा सार्वजनिक गर्दै आएका हुन् । कुनै पनि नमूना संकलन भएको ७२ घण्टा भित्रमा परीक्षण भईसक्ने गरेको दावी डा.यादवको छ । ल्याबमा आईपुगेको ४८ घण्टाको अवधीमा नमूना परीक्षण प्रतिवेदन सार्वजानिक हुने गरेको हो ।
प्रदेश १ का तीन प्रयोगशालामध्ये कोशी अस्पताल विराटगरबाट ३५५ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट २१० जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको परीक्षणबाट १२७ जनाको रिपोर्ट कोरोना पोजेटिभ प्रमाणित भएको हो । प्रदेश १ मा प्रयोगशाला सञ्चालनमा ल्याउनु अगाडी टेकु अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा १२ जनामा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।

संक्रमितमा युवाको संख्या बढी

प्रदेश १ मा बिहीबारसम्म संक्रमित ७०४ जनामध्ये ११५ जना महिला र ५८९ पुरुष छन् । तीमध्ये ११ वर्षदेखि ४० वर्ष उमेर समूहका संक्रमितको संख्या धेरै रहेको छ ।
मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताका अनुसार २१ वर्षदेखि ३० वर्ष उमेर समूहका युवामा संक्रमण अधिक देखिएको छ । यो उमेर समूहका २७६ जना संक्रमित भएको हुन्, जसमा ४८ महिला र २२८ पुरुष रहेका छन् । सबैभन्दा बढी भारतबाट फर्कनेहरु यो उमेर समूहका रहेका छन् । यसैगरी ११ वर्षदेखि २० वर्ष उमेर समूहका १५८ जना, ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका १४९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार १० वर्षमुनीका १९ जना संक्रमित छन् । ४१ वर्षदेखि ५० वर्ष का ७३ जना, ५१–६० का २२ जना र ६१–७० वर्ष उमेर समूहका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितको उपचारका लागि पाँच स्थानमा आईसोलेशन केन्द्र विस्तार गरिसकिएको छ । बिहीबारसम्म पाँच आईसोलेशन केन्द्र पुगेको हो । जसमध्ये कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ३२ जना, सुन्दरहरैंचाको पीयू कोभिड–१९ आइलोलेशनमा ५८ जना, बीपी कोइराला धरानको कोभिड–१९ उपचार केन्द्रमा ४१ जना, चौदण्डीगढी उदयपुरमा २१ जना र जिल्ला अस्पताल खोटाङमा १ जना संक्रमित उपचारतः रहेका छन् ।

सीमा जोडिएका जिल्ला प्रभावित

प्रदेश १ का १४ जिल्लामध्ये झापा कोरोना संक्रमणको हटस्पट बनेको छ । झापामा संक्रमितको संख्या २९८ जना पुगेको हो । झापासहित भारतसँग सीमा जोडिएका जिल्लाहरु धेरै प्रभावित बनेका छन् ।
झापापछि मोरङमा १८३ जना, सुनसरीमा ९८ जना, उदयपुरमा ७२ जना, इलाममा १३, खोटाङमा ११ धनकुटा ८ भोजपुर ६, संखुवासभा ५ जना रहेका छन् । यसैगरी तेह्रथुम र ताप्लेजुङमाा ३–३ जना, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा १–१ जना संक्रमित भएका छन् । प्रदेशमा संक्रमितमध्ये ५४१ जना डिस्चार्ज भईसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्