संखुवासभा पहिरो : चारको जीवित उद्धार, ११ वेपत्ता

संखुवासभा पहिरो : चारको जीवित उद्धार, ११ वेपत्ता

विराटनगर । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिराले बगाएका आठ घर का ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका हुन् ।

 

स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । दमका बिरामी मदन राईको हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

 

पहिराले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो । घटनास्थलमा ससुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिएका छन् । घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्नेछ । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ ।

 

त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट २४ घण्टामा मात्रै पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्