रबिन्द्र बराल
रंगेली । दुई दिनदेखि परेको वर्षाका कारण मोरङको चिसाङ्ग खोलामा आएको बाढीले रंगेली–८ र कानेपोखरी–२ दुखीटोलमामा बितण्डा मच्चाएको छ ।
रंगेली नगरपालिका–८ नरहटोल देखि पश्चिम क्षेत्रका स्थानीयको ४० बिघा र रंगेली–८ मैनाबारीमा ३ बिघा क्षेत्रफलमा रोपिएको धान चिसाङको बाढीले पुरिदिएको हो ।
बाढीसँगै लेदो, बालुवा र गिट्टी धान खेतमा पसेपछि भर्खरै रोपेको धानको गाँज सबै पुरिएको छ । चिसाङमा पानीको वहाव बढ्दा अघिल्ला वर्षहरुमा यहाँका ३० घर विस्थापित भईसकेका छन् ।

स्थानीय माधव आचार्यका अनुसार चिसाङको दुःख अन्त्य गर्न तटीय क्षेत्रमा तटबन्ध बनाउने योजना वर्षेनी बन्ने भएपनि अहिलेसम्म कुनै काम भएको छैन ।
यसैगरी कानेपोखरी–२ मा पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवको घर भित्रका सामान बाढीले बगाई दिएको मोरङ प्रहरीले जानकारी दिइएको छ । उनीहरुको टिनको छानो भएको एक तले घर भित्रका सामानहरु बाढी पसेर बगाउँदा दुईलाख रुपैँया बराबरको क्षति पुगेको हो । बाढीले दुखिटोलका सात घर स्थानीय विस्थापित समेत भएका छन् ।
मोरङको उर्लाबारी–३ मा १६ घरपरिवारको २९ बिघा क्षेत्रफलको धान बाढीले पुरिदिएको छ । २२ वर्षपछि बक्राहाले धार परिवर्तन गरेर स्थानीयहरुको धान खेत पुरिदिएको हो ।