विराटनगरका होटल खोल्ने चाँजोपाँजो मिलाउँदै सञ्चालक

विराटनगरका होटल खोल्ने चाँजोपाँजो मिलाउँदै सञ्चालक

विराटनगर । गत चैत ११ गतेपछिको लकडाउनमा बन्द रहेका विराटनगरका पर्यटकीयस्तरका होटल सञ्चालनका लागि सञ्चालकहरुले चाँजोपाँजो मिलाउन थालेका छन् । होटलका सञ्चालकहरुले नयाँ आर्थिक वर्षदेखि सरकारले स्वीकृति नदिएपनि ‘साइलेन्ड ओपन’ को नीति लिने भएका हुन् ।

 

विराटनगरको पर्यटकस्तरीय होटल एसियाटिकका सञ्चालकले आगामी साउन १ गतेदेखि होटल खोल्ने सार्वजानिक रुपमा घोषणा गरेका छन् । तर, क्षेत्रीय होटल एशोसिएशन औपचारिक रुपमा यो निर्णयमा पुगिसकेको छैन ।
क्षेत्रीय होटल एशोसिएशनका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले सरकारले खोल्न नभन्दासम्म औपचारिक रुपमा एशोसिएशनले भन्न नसक्ने भएपनि बन्द मात्रै राखेर जाने अवस्थामा नरहेको बताएका छन् ।

भारतको मुम्बई शहरका होटलहरु खोल्न थालिसकेका छन्, एशोसिएशनका श्रेष्ठले भने–भारत भन्दा नेपालमा कम जोखिम देखिन्छ । उनका अनुसार स्वास्थ्य सुरक्षा प्राटोकल अपनाएर होटलहरु सञ्चालनमा ल्याउनु पर्छ भन्ने मान्यता सबै सञ्चालकमा सहमति भईसकेको छ ।
सार्वजानिक यातायात, सीमाको आवाजजावत र विमानस्थल सञ्चालनसँगै होटलहरु खुल्ने बाटो निर्धारण हुने श्रेष्ठले बताएका छन् ।

सरकारले आगामी साउन ७ गतेदेखि नेपालमा आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको छ । त्यसपछि हुने सम्भावित चहलपहललाई लक्षित गर्दै विराटनगरका होटलहरु सञ्चालनको पूर्व तयारीमा पुगेका छन् ।

एशियाटिक होटलका सञ्चालक पुण्य भट्टराईले ठूलो चहलपहल नबढाई होटललाई सञ्चालनमा ल्याउने तयारी भईरहेको बताएका छन् । भारतीय र अन्य विदेशी मूलमा पाहुना बास बस्न आएमा होटलमा बस्न दिईने छ । एशियाटिक होटल अरुण तेस्रो परियोजनाका पाहुना लक्षित होटल मानिन्छ ।

होटलहरुले सञ्चालनका लागि स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउनु पर्नेछ । भारत वा विदेशबाट आएका पाहुनाहरुले पीसीआर परीक्षण रिपोर्ट समेत अनिवार्य साथमा लिएर आए मात्रै बास पाउनेछन् ।
विराटनगरमा पर्यटकीयस्तरका २६ होटलहरु रहेका छन् । त्यस बाहेक मध्यमस्तरका ६७ होटल रहेका छन् । प्रदेश १ मा पर्यटकीयस्तरका झण्डै ३५० होटल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्