इनरुवा–काकडभिट्टा रेलवे योजना : मुआब्जा पहिल्यै दिनुपर्ने स्थानीयको माग

इनरुवा–काकडभिट्टा रेलवे योजना : मुआब्जा पहिल्यै दिनुपर्ने स्थानीयको माग

विराटनगर । मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काकडभिट्टा खण्ड अन्तर्गत मोरङको बेलबारीका स्थानीयले पाउनु पर्ने मुआब्जा दिएर मात्रै काम अगाडी बढाउनुपर्ने माग गरेका छन् ।
प्रदेश १ अन्र्तगत सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलमार्गको बेलबारी ९ र १० का स्थानीयले जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनामा यथेष्ट जानकारी नभएको भन्दै पुनः सूचना प्रकाशित गरिनुपर्ने माग गरेका हुन् ।

रेलमार्ग विस्तारका लागि ६३५.७७ हेक्टर जमिन आवश्यक पर्ने योजना अनुरुप त्यस क्षेत्रका कतिपय हकवालाले अव्यवस्थित बसोबास गरिरहेका स्थानीयलाई समेत सम्बोधन गरिनुपर्ने माग अगाडी सारेका छन् । बेलबारीका १२५ घरपरिवारका प्रतिनिधिले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन पत्र बुझाउँदै सूचनाका तोकिएका कित्ताहरु साविक नक्सा अनुसार नभएको गुनासो गरेका हुन् ।

रेलमार्ग विस्थापित समन्वय तथा संघर्ष समितिका संयोजक महानन्द पोखरेलले पछिल्लो समय कित्ताकाट गरिएको जमिनको नम्बर उल्लखे नहुँदा दुविधा भएकोले पुनः सूचना प्रकाशित गर्नुपर्ने बताएका छन् । पाँचबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले जग्गाको चलचल्तीको मूल्याकन हुनुपर्ने, कित्ता नम्बर समावेश गरेर सूचना प्रकाशित गर्नुपर्ने, अव्यवस्थित बसोबास भएका क्षेत्रमा व्यक्तिका लागि बसोबास मिलाउनुपर्ने र रेलमार्गसँग जोडिएका टुक्राटाक्री जमिनको क्षतिपूर्ती पाउनुपर्ने माग गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले ज्ञापनपत्र बुझ्दै आवश्कयता र स्थानीयको माग अनुसार छलफल गरेर निष्कर्ष निकालिने जवाफ दिएका छन् ।
दोहा इन्जिनियरिङ कम्पनि लि. जेभी कोरिया रेल नेटवर्क अथोरिटी सोसुङ्ग र सिल्ट कन्सल्ट प्रा.लि.ले वातावरण प्रभाव मूल्यांकन (इआईए) गरेको थियो । रेल विभागका परामर्शदार्ता इन्जिनियर मोहन भट्टले कित्ताकाट छुटेको जमिनको विवरण अध्यावधिक भईरहेको दावी गरेका छन् ।

यस्तो छ योजना

इनरुवा–काकडभिट्टाको १०६.५९ किलोमिटर सेवा क्षेत्र भित्रका हकवाला जग्गाधनीमध्ये सुनसरी र मोरङको सुन्दरहरैंचा क्षेत्रका स्थानीयले भने हकदावी गर्दै कागजात बुझाउन थालिसकेका छन् ।
विस्तार आयोजना क्षेत्रमा ५१२.६९ हेक्टर खेतियोग्य, ५३.६१ हेक्टर जल क्षेत्र, ३३ हेक्टर वस्ती क्षेत्र, १९.६० हेक्टर वन क्षेत्र पर्दछ । आयोजना क्षेत्रमा चार हजार घरधुरीका पाँच हजार ११८ कित्ता जग्गा, ५५० वटा संरचनासहित इनरुवा–काकडभिट्टामा ३५७ र इटहरी–विराटनगरमा १९३ घरपरिवार विस्थापित हुनेछन् । विद्युत प्रसारण लाइनका ६६६ वटा संरचनाहरु थप भत्कने छन् ।

तीन जिल्लामा साना र ठूला गरि ३४ वटा पुल, २८५ प्रकारका प्राकृतिक नालाको क्रसिङ, पैदल यात्री तथा चौपायाका लागि सुरक्षित तीनसय पासिङ कल्भर्ट निर्माण गर्ने योजना रहेको छ । मेची–महाकाली रेलवे आयोजनालाई दश खण्डमा विभाजन गरि काम अगाडी बढाउने सरकारले योजना अनुरुप रेल विभागले इनरुवा–काकडभिट्टा खण्डको ठेक्का समेत खोलिसकेको छ । ठेक्का खोल्नु अगाडी मुआब्जाका लागि सार्वजानिक सूचना निकालिएको थियो ।
प्रदेश १ का झापा, मोरङ र सुनसरीमध्ये १०६.५९ किलोमिटर इनरुवा–काकडभिट्टा र २०.१६ किलोमिटर इटहरी–विराटनगर खण्ड लिंक रेलवे निर्माण गर्ने योजना राखिएको छ ।

एक खर्ब १४ अर्ब रुपिँया लागत अनुमान प्रस्ताव गरिएको रेलवे, सुनसरी इनरुवाको पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टीबाट राजमार्गकै समानान्तर भएर इटहरी (खनार) हुँदै काकडभिट्टामा जोडिने छ । इनरुवा–काकडभिट्टा क्षेत्रमा दशवटा रेलवे स्टेसन र इटहरी (खनार)–विराटनगर अन्तर्गत हात्तिम्ुढामा एउटा रेलवे स्टेसन रहने उल्लेख गरिएको छ ।
योजना मुताविक २०० किमीप्रतिघण्टा स्पिडमा गुड्ने बिद्युतीय रेललाई २५ मिटर दाँयाँ–बाँया जग्गा अधिग्रहण गरिनेछ । एक हजार ४३५ ट्रयाक (स्यान्डर) गेज रहने रेलवे ७.५ मिटर चौडाईको हुनेछ । त्यसका लागि १०–१२ मिटर उचाईको तटबन्ध सहित १३२ केभी प्रसारण लाइनको इटहरी, दमक र विर्तामोडमा सवस्टेशन हुनेछन् ।


निर्माणका क्रममा २२ करोड ६७ लाख नौहजार ४९ घन मिटर माटो, २ लाख ८७ हजार ४१ घनमिटर बालुवा, १८ लाख २९९ घन मिटर ग्राभेल, तीनलाख, ७६ हजार ७३९ घन मिटर बाउल्डल ढुंङ्गा खपत हुने अनुमान गरिएको छ । यसका लागि २३ स्थानमा उत्खनन् स्थल राखिने प्रस्ताव गरिएको छ । आयोजना क्षेत्रमा वयस्क र पोल साइजका रुखहरु ८ हजार ४३० को संख्यामा काटिने छन् ।

आयोजना निर्माणका लागि निजी संरचनाका लागि ९८ करोड ७५ लाख छ हजार, प्रसारण लाइनका लागि २० अर्ब ६३ करोड ४० लाख ६९ हजार ७८२ र १२६ किलोमिटर रेलमार्ग विस्तारका लागि ९० अर्ब २८ करोड १८ लाख छ हजार २४० रुपिँया लागत अनुमान गरिएको थियो । वातावरण, सामाजिक र पुर्नवासका लागि २४ अर्ब रुपिँया लागत अनुमान गरिएको छ ।

झापाको काकडभिट्टा–कन्चनपुरको गड्डाचौकीलाई रेलवेले जोड्न १००४ किलोमिटर दुरीमा मेची–महाकाली रेलवे निर्माण गर्ने योजना सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी सारेको हो । जसमध्ये ७९.०४९ किलोमिटर लिंक रेलवे निर्माण गरिने छ ।
इटहरी–विराटनर २०.१७० किमी, बुटवल–भैरहवा (दुईखण्ड) ४२.६९१ र १.७४८ तथा कोहलपुर–नेपालगञ्ज १४.४४० किमी पर्दछ । मुख्य शहरलाई रेलमार्गसँग जोड्नका लागि लिंक रेलवे अवधारणा अगाडी सारिएको हो ।

आयोजनालाई दुई क्षेत्रमा विभाजन गरिएको छ । जसमध्ये काकडभिट्टा–बुटबल अन्तर्गत इटहरी–विराटनगर र बुटबल–लुम्बिनी लिंकसहित ६०१.६९२ र बुटबल–गड्डाचौकी अन्तर्गत नेपालगञ्ज लिंकसहित ४०२.१६४ किमी पर्दछ । दश खण्ड अन्तर्गत काकडभिट्टा–इनरुवा, इनरुवा–बर्दिवास, बर्दिवास–निजगढ, निजगढ–भरतपुर अमरापुरी, अमरपुरी–तमसरिया, तमसरिया–बुटवल, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड, सुख्खड–गड्डाचौकी छन् ।

काकडभिट्टा–इनरुवा, इनरुवा–बर्दिवास खण्डको इआईए सार्वजानिक सुनुवाईपछि मुआब्जा र ठेक्काको प्रक्रिया अगाडी बढाइएको हो ।
मेची–महाकाली रेलवेसँग छिमेकी भारतको रेलवे सेवालाई जोड्ने लक्ष्य समेत राखिएको छ । भारतले समेत काकडभिट्टा–जल्पायीगुडी, विराटनगर–बथनाहा (निर्माणाधिन), बर्दिवास–जयनगर (निर्माणाधिन), भैरहवा–नौतङ्वा, बिरगञ्ज–रक्सौल, नेपालगञ्ज–रुपडियासम्म रेलवे लाइन विस्तार गर्ने योजना अगाडी सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्