पाँचथरका सबै संक्रमित उपचारपछि घर फर्किए

पाँचथरका सबै संक्रमित उपचारपछि घर फर्किए

विराटनगर । पाँँचथर जिल्ला कोरोना भाइरसका संक्रमितबिहीन जिल्ला बनेको छ ।
तेस्रो मुलुकबाट रोजगारीमा फर्केहरु चारजनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएका चारैजना संक्रमण मुक्त भएसँगै पाँचथर जिल्ला संक्रमणविहीन जिल्ला भएको हो ।

सरकारी उद्धारबाट नेपाल आएका चारै जना खाडी मुलुकबाट फर्केका थिए । उनीहरुलाई फिदिमस्थित क्वारेन्टीनमा राखिएको बेला संक्रमण देखिएको थियो । पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो संक्रमित भेटिएका थिए ।

 

जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । संक्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।

यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई) बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

 

उनीहरुमध्ये दोस्रो संक्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

 

जिल्ला प्रशासन कार्यालयले सबै संक्रमित निको भएको तथा क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टिन पूर्णरुपमा खाली भएका छन् ।

क्वारेन्टिनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार २०३ को आरडिटी गरिएको छ । यहाँका ७२२ बेडको क्वारेन्टिन तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्