केराबारीका अध्यक्ष कार्कीलाई खुकुरी हाल्ने ठकुरीको घरमा ब्राउन सुगर भेटियो

केराबारीका अध्यक्ष कार्कीलाई खुकुरी हाल्ने ठकुरीको घरमा ब्राउन सुगर भेटियो

विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । पटके करको विषयमा विवाद हुँदा अध्यक्ष कार्की माथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केरोबारी गाउँपालिका १० का ३२ वर्षिय भाले भनिने भवन ठकुरीको घरमा ब्राउन सुगर बरामद भएको हो ।

प्रहरीले उनको घर खनतलासी गर्ने क्रममा नियन्त्रित लागुऔषध ब्राउन सुगर फेला पारेको दावी गरेको छ । ठकुरी सुत्ने कोठा भित्रको ओछ्यान मुनी प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले दावी गरेका छन् ।

 

‘घटनापछि प्रहरीले तत्काल पक्राउ गरेको ठकुरीको घरमा ब्राउन सुगर भेटिएपछि उनी विरुद्ध लागुऔषध कारोबारीको रुपमा समेत अनुसन्धान हुने भएको छ । मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने, ‘ठकुरी सुत्ने घरको काठको ओछयान मुनी लुकाएर राखेको ब्राउन सुगर फेला परेको जानकारी दिएका छन् ।

ठकुरी लागूऔषध प्रयोगकर्ता पनि रहेको बुझिएको छ । उनी अध्यक्ष कार्कीसँग निकट रहेका व्यक्ति समेत मानिन्छन् । चुनावताका कार्कीलाई जिताउन उनले अन्य पार्टीका मतदातामाथि समेत ज्यादती गरेको आरोप छ । अन्य विभिन्न प्रकारको लागूऔषध पनि बरामद भएकोले प्रहरीले कारोबारी पनि हुनसक्ने बताएको छ । यस अगाडी केराबारी क्षेत्रमा खटिने प्रहरीमाथि उनले अध्यक्ष कार्कीकै आडमा दवाव सिर्जना गर्ने गरेका थिए ।

शुक्रबार दिउँसो ठकुरीले केराबारी गाउँपालिको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्ष भित्र अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरि घम्भिर घाइते बनाएका हुन् । अध्यक्ष कार्की र उनीबीच ठेक्काको विषयमा केहिदिनदेखि लगातार विवाद हुँदै आएको थियो । खुकुरी प्रहार गरि टाउँको गहिरो चोट लागेको कार्कीको विराटनगरस्थित नोबेलम मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पक्राउ परेका ठकुरीलाई प्रहरीले मोरङ अदालतमा ‘ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए । प्रहरीले आइतबार ठकुरीलाई अदालतमा ५ दिनको म्याद थप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्