विराटनगर । विराटनगर—२ बञ्जराचौकस्थित इस्टर्न सिटी अपार्टमेन्टले निमार्ण सम्पन्न प्रमाणपत्र नलिई कारोबार गरेको पाइएको छ ।
महानगरपालिकाबाट निमार्णको दोस्रो चरणको इजाजत लिएको भएता पनि निमार्ण सम्पन्न प्रमाणपत्र भने लिएको छैन ।
महानगरपालिकाले मापदण्ड अनुसार निमार्ण भएको वा नभएको यकिन गरेपछि मात्रै निर्माण सम्पन्न प्रमाणपत्र दिन्छ । निर्माण सम्पन्न प्रमाणपत्र दिएपछि मात्रै संरचना बुकिङ गर्न, भाडामा दिन, बेच्न पाइन्छ । होइन भने त्यस्तो कारोबार अवैध मानिन्छ ।
इस्टर्न सिटी डेभेलपर्सले सन् २०१२ मा निर्माण थालीको थियो । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुशिल धनावत, गणेश अग्रवाल र सुधिर अग्रवालको संयुक्त लगानीमा निमार्ण भएको बर्षौ वितिसक्दा सम्पूर्ण कागजात लिएको छैन ।
घर नक्सा शाखा कार्यालयका नायब सुब्बा राम बरालले इस्टर्नलाई दोस्रो चरणको इजाजत दिएपनि निमार्ण सम्पन्न सम्बन्धि कागजातका लागि कुनै पहल नभएको बताए । बरालले निमार्ण सम्पन्न प्रमाणपत्र बिना कुनै व्यापारिक कारोबार गर्न हुने नहुने बारेमा थाहा नभएको बताए ।
घर नक्सा शाखा कार्यालयका निमित्त प्रमुख आर्कटेक्ट प्रविना पोखरेलले निर्माण सम्पन्न कागजात बिना कुनै काम गर्न नहुने भन्दै अपार्टमेन्टको बुकिङ, बिक्रि र भाडामा दिने कार्य गैर कानुनी भएको बताइन् ।
पोखरेलले प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल अपार्टमेन्ट भाडामा बस्न इच्छुक रहेका तर अपार्टमेन्टसँग निमार्ण सम्पन्न कागजात नहुँदा अर्कै ठाउँमा भाडामा बसेको बताइन् । पोखरेल हाल विराटनगर—३ हिमाली टोलमा भाडाको बस्दै आएका छन् ।
ईस्टन झण्डै १३ कठ्ठा क्षेत्रफलमा छ भने ४ विल्डिङ गरी १५६ यूनिट छन् । ४७० देखि १५०० वर्गफिटसम्मका ७ देखि १० तल्लासम्मका रहेको छ । अपार्टमेन्ट ८० प्रतिशतले बुकिङ, बिक्रि र भाडामा भएपनि हालसम्म नामसारी भएको छैन ।
स्रोत : न्यू सृष्टि दैनिक–२०७६ साउन ५ गते