किसानलाई हारभेस्टरको चावी

किसानलाई हारभेस्टरको चावी

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरले कृषकलाई कृषि उपकरण वितरण गरेको छ । परियोजनाले सोमबार विराटनगर कार्यालय परिसरमा मोरङको रतुवामाइ नगरपालिका–८ को रुपान्तरण कृषि सहकारीलाई कष्टम हारभेस्टर र साना उपकरणहरु हस्तान्तरण गरेको हो ।

परियोजनाले सहकारीलाई ७९ लाख ९७ हजार मूल्य बरावरको कृषि उपकरणहरु हस्तान्तरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका वरिष्ठ कृषि अधिकृत विनोद कुमार मण्डलले जानकारी दिएका छन् ।

सहकारीलाई १ थान कष्टम हारभेस्टर, २ थान ट्याक्टर, ४१ थान डिजिटल तराजु, ५९ थान पीएच मिटर, ६ थान एरिएटर र १६ वटा मोटर उपलब्ध गराइएको थियो । परियोजनाले वितरण गरेको उपकरणको चाबी प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री रामबहादुर राना मगरले सहकारीका अध्यक्ष गणेश उप्रेतीलाई हस्तान्तरण गरेका हुन् ।

सहकारीमा करिब ५ सय कृषक आवद्ध छन् । सहकारीमा आवद्ध भएका कृषकले प्रयोग गर्दा उपकरणमा २५ प्रतिशत छुटको व्यवस्था गरिने सहकारीका अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् । यान्त्रिकरणको प्रयोग गरि उत्पादन बढाउन यस्ता उपकरणले ठूलो भुमिका खेल्ने अध्यक्ष उप्रेतीको दावी थियो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री मगरले प्रविधिको उच्चतम प्रयोग गरि कृषि पेशालाई आधुनिकरण गरिनुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारले कृषि क्षेत्रलाई बृहतर प्याकेज क्षेत्र बनाएर प्राथकितामा साथ विकास गर्ने योजनामा राखेको मन्त्री मगरको दावी छ ।

परियोजनाले आर्थिक वर्षमा ८४.३६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आर्थिक वर्षमा ५ करोड २४ लाख ५३ हजार बिनियोजित बजेट मध्ये ४ करोड २२ लाख २६ हजार रुपैयाँ खर्च भएको अधिकृत मण्डलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्