विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ ।
चार दिन अघि उच्च ज्वरो र खोकी लागेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि भर्ना गरिएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी उपचारमा आउँदानै गम्भीर बिरामी भएकोले आइसियुमा राखेर उपचार गरिँदै आएको थियो ।
उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोरोना आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो । आइसोलेसनको आइसियु कक्षमा उपचार गर्दा गर्दै मंगलबार साँझ उनको मृत्यु भएको प्रवक्ता सापकोटाले बताएका छन् ।
उनको स्वास्थ्यमा प्रतिकुल समस्या देखिएसँगै मिर्गौलाले काम नगरेकोले डाईलेसिस पनि गर्नुपरेको थियो भने पुरै निमोनिया देखिएको थियो ।
यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका कोरोना सङ्क्रमित मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । यस अघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।