सेनाको पेन्सन : कान्छीलाई जेठी

सेनाको पेन्सन : कान्छीलाई जेठी

विराटनगर । नेपाली सेनाबाट निवृत्तिभरण (राजीनामा) बुझेका मोरङ ग्रामथान गाउँपालिका–५ तेतरियाका दिनेशकुमार विश्वासले पेन्सनपट्टामा कान्छी श्रीमतीलाई जेठी कायम गराउन भ्याए । श्री दि फेमश महेन्द्र दल गणमा कार्यरत रहँदा २०७२ ताका उनले सुटुक्क कान्छी ल्याएका थिए । उनको सैनिक ब्याच नम्बर १७९०५६ थियो ।

जेठी श्रीमती बाग्लुङ्ग हटिया गाउँपालिका–३ की मौसमी बस्नेतसँग २०६४ फागुन ४ मा विवाह गरेका विश्वासले कान्छी भने गाउँघर तेतरियाकै पारु माझीलाई बनाए । जेठी मौसमीतर्फ तीन छोरा छन् । कान्छी ल्याउनु अगाडी नै मौसमीबाट तीन छोरा जन्मिएका हुन् ।
भूकम्प (२०७२ बैशाख) गएका बखत काठमाण्डौंमा रहेकी मौसमी चेपिएर घाइते भइन् । उनको हात र खुट्टामा चोट लाग्यो, अहिले स्टिल लगाइएको छ । त्यसैबेला सैनिक विश्वासले कान्छीलाई लिएर सिन्धुपाल्चोकको भूकम्प पीडित बस्तीको पुर्ननिर्माणमा पुगेको मौसमीको दावी छ ।

मलाई उनकै साथीहरुले भने–भाउजु दिनेशले केटी लिएर आएको छ, मौसमीले भनिन्, त्यसपछि सोध्दा हैन भन्यो, पछि थाहा लाग्यो पारुलाई श्रीमती बनाएको रहेछ । मौसमीका अनुसार पारुलाई १२ लाख नगदसहित उनले दोस्रो श्रीमती बनाएका थिएछन् ।
मंगलबार विराटनगरमा आएकी उनले कानुनले प्राप्त गर्नसक्ने सुविधा भोग गर्ने योजना लिएको सुनाईन् । उनले भनिन् छलकपट कहाँ–कहाँ भएका छन्, मिडियाले सहयोग गरिदिनुपर्छ । पाँचवर्ष अगाडी नै दोस्रो विवाह भएको र मेलमिलाप समेत गरिएको केसलाई अहिले प्रहरीले चासो दिएको छैन । अदालतबाट न्याय खोज्नु अगाडी मौसमीले मिडियाको सहयोग चाहेको सुनाईन् । उनले पत्रकार महासंघ मोरङमा आएर पत्रकारहरुलाई आफ्ना गुनासा सुनाएकी हुन् ।

पारुसँग दिनेशको सम्बन्धले मौसमी एक्लिदैं गइन् । जसका कारण उनले २०७२ सालमा सामाजिक संघ र संस्थाको सहयोगमा इलाका प्रहरी कार्यालय बेलबारीमा दिनेश विरुद्ध उजुरी गरिन् । दिनेशले दैनिक पाउँदै आएको तलवबाट आधा रकम दिने सहमति जनाएपछि मासिक १० हजार रुपैँया मौसमीको खातामा जम्मा हुन थालेको थियो ।
त्यसपछि दिनेशको तलवबाट आउने रकम र आफ्नै पौरखले कमाएको केहि रकमले मौसमीले तीन छोराको स्याहार गर्दै आएकी थिइन् । उनी दोलखाको हाइड्रोपावरमा खाना पकाउने काम गरिरहेकी छिन् ।

समय चल्दै जाँदा दिनेशले नेपाली सेनाको जागिरबाट निवृत्तिभरण बुझे । त्यसपछि जंङ्गी अड्डा भित्रै छलकपट मच्चाए । उनले छाउनीमा पेन्सन पट्टा बनाउँदा कान्छी श्रीमती पारुलाई जेठी कायम गराए । त्यसका लागि तत्कालिन तेतरिया गाविसबाट जेठि श्रीमती मौसमीसँगको विवाह दर्ता भएको प्रमाण नष्ट गरेर कान्छी पारुलाई जेठी कायम गराउने विवाह दर्ता गर्न समेत भ्याएको मौसमीको बुझाई छ । को–को मिलेर यसो गरेका छन्, एकएक थाहा पाउँदै छु, सबैलाई अख्तियारमा पु¥याउने हो अब, मौसमीले भनिन्–धेरै दुःख खेपिसकें, अब छोराका लागि लड्छु ।
विवाह दर्तामा भएको हेरफेरका आधारमा छाउनीमा पेन्सनपट्टा काटियो । मौसमीले पाउने सेवासुविधा पनि हट्यो र पारुमा स¥यो । मौसमीले केहि महिना अगाडी कान्छो छोरा बिरामी हुँदा सैनिक अस्पतालमा लिएर पुगेकी थिइन् । त्यसबेला उनी सैनिक परिवारको सदस्य नभएको देखिएपछि मात्रै छाउनी भित्रको चलखेल बुझेकी हुन् ।

दिनेश र मौसमीको विवाह दर्ता पहिल्यै भएको र जङ्गी अड्डामा रहेको पुरानो विवरणका आधारमा छोराको उपचार सहित खाईपाई आएको सुविधाका लागि पुनः पहल गरिरहेकी उनी अहिले दोलखाबाट न्याय माग्दै विराटनगर आईपुगेकी छिन् । भनिन्, सगोलमा १६ बिघा जमिन छ, मेरो छोराहरुले पाउनुपर्छ । मौसमी मोरङ आएको खबर थाहा पाएपछि दिनेशले फोन स्वीच अफ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्