प्रदेश १ को छैंठौं अधिवेशन शुक्रबार (भोलि) देखि अन्त्य

प्रदेश १ को छैंठौं अधिवेशन शुक्रबार (भोलि) देखि अन्त्य

विराटनगर । प्रदेश १, प्रदेशसभाको जारी बजेट अधिवेशन शुक्रबार साउन ९ गते (भोलि) राति १२ बाट अन्त्य हुने भएको छ ।
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जारी छैठौं तथा बजेट अधिवेशन अन्त्य गर्न निर्णय गरेको हो । अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

मन्त्रिपरिषद्को बैठकको निर्णय जानकारी गराउँदै आार्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै यातायात व्यवस्था कार्यालय ओखलढुंगा स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । प्रदेशसभामा पूर्व सगरमाथा अञ्चलमा यातायात व्यवस्था कार्यालय नहुँदा सेवाग्राही समस्यामा परेको भन्दै पटक पटक आवाज उठेपछि सरकारले कार्यालय स्थापनाको निर्णय गरेको छ ।

बैठकले महालेखा परीक्षकको प्रतिवेदन २०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको मन्त्री आङ्बोले जानकारी दिनुभयो । बिहीबारको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव अनुसार मस्जिद व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरेको छ भने सामााजिक संस्था ऐन २०७५ संशोधनका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै पर्यटन विकास सम्वन्धी नियमावली २०७७ र प्रदेश वातावरण सम्वन्धी नियमावली २०७७ समेत बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

नियमावली स्वीकृतिसँगै प्रदेशमै आइईई र इआईए प्रतिवेदन तयार पार्ने बाटो खुलेको हो । बैठकले पर्यटन र वनसँग सम्वन्धित कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा भएका कामको बाँकी भुक्तानी दिने र स्रोत मिलान गर्ने निर्णय पनि बैठकले गरेको छ । आर्थिक वर्षको अन्तिममा समय चापका कारण बाँकी रहेका योजनाहरुको
भुक्तानी गर्ने बाटो खुलेको मन्त्री आङ्बोले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयन प्रकृया सुरु गर्ने निर्णयसमेत गरेको छ ।

 

मन्त्रिपरिषद्को बैठकले घरेलू विकास समितिमा कार्यरत सबै करार सेवाका कर्मचारीहरुको समयावधी एक वर्ष थप गर्ने निर्णय गरेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार संघीय सरकारले घरेलु विकास समिति हस्तान्तरण गर्दा आएका सबै अस्थायी करार सेवाका कर्मचारीहरुको म्याद एक वर्ष थप गर्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्