विराटनगरमा हराएका मोवायल साइबर क्राइममा प्रयोग, प्रहरीलाई अपराधी खोज्न मुस्किल

विराटनगरमा हराएका मोवायल साइबर क्राइममा प्रयोग, प्रहरीलाई अपराधी खोज्न मुस्किल

विराटनगर । व्यक्तिका मोवायल चोरी तथा लुटपाट गर्ने वा हराएका मोवायल भेट्नेहरुले अपराधका लागि ती मोवायल प्रयोगमा ल्याउँदा साइबर क्राइमका घटना बढ्दो क्रममा देखिएका छन् । मोरङ प्रहरीमा मात्रै सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरि साइबर क्राइम अपराध भएको भन्दै असार ९ गतेदेखि साउन ९ गतेसम्मको एक महिना अवधीमा १६ वटा उजुरी परेका हुन् ।

यी उजुरी चोरी भएका मोवायल वा हराएका मोवायलबाट भएको देखिएको छ । प्रहरीमा पीडित बनेर पुगेका व्यक्तिको निवेदनका आधारमा अनुसन्धान गरेर सम्बन्धित मोवायल धनीसम्म पुग्दा उनीहरुको मोवायल हराएको पाउने गरिएको हो । सम्बन्धित धनिसम्म पुग्दा अपराध नभएको देखिने र मोवायल हराएको गुनासो सुन्नुपर्ने भएपछि प्रहरीलाई साइबर क्राइम पीडितलाई न्याय दिलाउन समस्या पर्न थालेको हो ।

 

मोरङ प्रहरीले यस्तो अपराध बढेसँगै जिल्ला प्रहरी कार्यालयमा नियमित अपराध अनुसन्धानका लागि छुट्टै डेस्क खडा गरेको छ । मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार नियमित अपराध अनुसन्धानका काम बाहेक प्रहरी कार्यालयमा दर्ता भएर अनुसन्धान हुन बाँकी रहेका घटनाको निरुपण गर्न विशेष अनुसन्धान डेस्क खडा गरिएको हो ।

उपरीक्षक खड्काले आफैं हेर्ने गरि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा विशेष अनुसन्धान डेस्क खडा गरेर अहिले हराएका मोवायलसहित अनुसन्धान थाती रहेका जघन्य अपराध मुद्दाको अनुसन्धान गर्न थालिएको छ । मोरङ प्रहरीले असार ९ गतेदेखि साउन ९ गतेसम्ममा मोवायल हराएका ७३ वटा निवेदन बुझेको छ । जसमध्ये २८ थान मोवायल समेत फेला पारि सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेको छ ।

यसैगरी मोवायल चोरी तथा लुटपाट आरोपमा संलग्न सुरज उरावसहित चारजनालाई मुद्दा चलाइएको उपरीक्षक खड्काले जानकारी दिनुभयो । यसैगरी इलाका प्रहरी कार्यालय रानीमा माोवायल चोरी तथा लुटपाटमा संलग्न पाँचजनालाई पक्राउ गरि मुद्दा चलाइएको छ ।
मोरङमा आर्थिक वर्ष २०७६÷२०७७ मा एक हजार ३५९ थान मोवायल हराएका निवेदन परेका थिए । जसमध्ये १८३ मोवायल मात्रै प्रहरीले फेला पारि सम्बन्धित धनिलाई फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्