स्वीस सरकारद्वारा दुई पीसीआर मेसिन प्रदेश १ लाई सहयोग

स्वीस सरकारद्वारा दुई पीसीआर मेसिन प्रदेश १ लाई सहयोग

विराटनगर । प्रदेश १ सरकारलाई स्वीस सरकार विकास सहयोगले दुईवटा अत्याधुनिक आरटी–पीसीआर मेशिन शुक्रबार हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वीस सरकारका नेपालस्थित प्रतिनिधिले ९० लाख मूल्य बराबरको पीसीआर मेशिन हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले स्वीस सरकारद्वारा प्राप्त पीसीआर मेशिन ग्रहण गर्दै कोभिड–१९ लाई परास्त गर्नका लागि सहयोगले सार्थक हुने बताउनुभयो ।

स्वीस दुतावास र सरकारप्रति आभार व्यक्त गर्दै प्रदेश १ मा कोरोना संक्रमण समुदायस्तरमा फाट्टफुट्ट देखिन लागेकोले अझै सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले पर्याप्त पहल लिएको दावी गर्दै मुख्यमन्त्री राईले नागरिकको सुरक्षामा कुनै कमजोरी नहुने बताउनुभयो । प्राप्त दुईवटा मेशिनमध्ये मेची अस्पताल झापा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सञ्चालनमा ल्याउने मुख्यमन्त्री राईले बताउनुभयो ।

उहाँले संक्रमणको अन्त्य नहुँदै बाध्यताले लकडाउन खुल्ला गरिएको परिवेशमा कोरोना विरुद्धको प्रतिकार्यका लागि आवश्यक पर्ने सम्पूर्ण तयारीमा कमि राख्न नहुने बताउनुभयो । नागरिकले सचेतपूर्वक दैनिकी व्यवस्थापन गर्न आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राईले सरकारले आवश्यक तयारी र उपचारमा कुनै कसर नराख्ने बताउनुभयो ।

स्वीस दुतवासका प्रतिनिधि अमन नोच्छेले नेपाल र नेपाली जनताप्रति स्वीस सरकारले सधैं सकारात्मक धारणासहित सहयोग गर्न चाहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको रुपमा प्रदेश १ सरकारलाई सूचना प्रणालीको विकासका लागि सहयोग गरिसकेको र बाँकी कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्