विराटनगर । पर्याप्त मात्रमा कृषकले रासायनिक मल नपाएपछि मोरङ, झापा र सुनसरीको दक्षिण भेगमा भारतदेखि युरिया र डिएसपी मलको तस्करी भइरहेको छ ।
धान रोपाइ सकिएपछि कृषकलाई अहिले युरिया मलको आवश्यक परेकोले स्वदेशमा प्रयाप्त नभएपछि भारतबाट तस्करी हुने गरेको हो ।
विराटनगरस्थित कृषि सामाग्री कम्पिन लि। प्रदेश १ कार्यालय विराटनगर र साल्ट ट्रेडिङ कर्पोरेसनले प्रयाप्त मात्रमा कृषकलाई मल उपलब्ध गराउन नसक्दा किसानले तस्करी गरेर ल्याएको मल महंगोमा खरिद गर्न बाध्य छन् । कृषि सामाग्री कम्पनीले प्रतिबोरा ७ सय रुपैयाँमा युरिया मल सहकारीमार्फत कृषकलाई उपलब्ध गराउँदै आएको थियो ।
कम्पनीले मल उपलब्ध गराउन नसक्दा किसानले तस्करसँग युरिया मल २ हजार रुपैयाँ बोराको दरले खरिद गरिरहेका छन् । मोरङको रंगेली, डानिया, कोनेपोखरी, डागिहाटमालगायतको किराना पसलहरूबाट तस्करीको मल बिक्री वितरण भइहरेको छ ।
मोरङ प्रहरीले सोमबार छुटाछुटै स्थानबाट तस्करी भइ नेपाल प्रवेश गरेको ५४ बोरा मल बरामद गरेको छ । सोमबार विराटनगर महानगरपालिका १४ जतुवा नहरबाट भारतदेखि तस्करी गरि ल्याएको ११ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ । यस्तै आइतबार राति जहदा गाउँपालिका १ भुटाहा स्थित ५० केजीको ४३ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोपाइ सकिएपछि धान हरियो हुन थालेपछि अहिले कृषकहरूको अत्याधिक माग युरिया मलको छ । तर, गत जेठदेखि प्रदेश १ को कृषकलाई सहकारीमार्फत वितरण गर्ने युरिया मल विराटनगरस्थित कृषि सामाग्री कम्पनीमा छैन । कार्यालयका प्रमुख नवरत्न गौतमका अनुसार गत जेठदेखि युरिया मल सकिएको हो ।
सरकारले हरेक पटक मल आपूर्ति गर्दा ७० प्रतिशत मल कृषि समाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई जिम्मा दिने गरेको छ । समयमै आपूर्ति गर्न नसकेपछि अहिले बजारमा मलको हाहाकार हुन पुगेको हो ।
स्रोत : हाम्रोमत