शरीर जोडिएका पाडापाडी जन्मिए

शरीर जोडिएका पाडापाडी जन्मिए

प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए ।

जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी विष्णु थापाले बताउनुभयो । अघिल्लो दिन राति ९ बजेदेखि भैँसीलाई व्यथा चले पनि सोमबार बिहान मात्र पाडापाडी निकालिएको उहाँको भनाइ छ ।

“भैँसीलाई ब्याउन गाह्रो भएपछि हामीलाई बोलाउनुभयो, पाँच-सात जना युवा मिलेर बल्लबल्ल पाडापाडी तान्यौँ”, थापाले भन्नुभयो । नगरपालिकाको पशु सेवा शाखामा खबर गरे पनि वर्षाका कारण आउन नसक्ने बताएपछि बलपूर्वक तानेर पाडापाडी निकाल्नुपरेको उहाँको भनाइ छ ।

भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको पहिलोपटक देखेको थापाले बताउनुभयो । दुई घण्टा लगाएर युवाहरुले जेनतेन पाडापाडी तानेका थिए । पाडापाडीको टाउको, खुट्टालगायत अङ्ग छुट्टाछुट्टै भए पनि शरीरको पछाडिको भाग जोडिएको थियो ।

लिमी पाराकोटे जातको दोस्रो बेते उक्त भैँसीले एकसाथ पाडो र पाडी जन्माए पनि शरीर जोडिएका कारण बचाउन नसकिएको हो । ब्याएपछि भैँसी दिनभर बिरामी पर्यो । भकारोबाट उठ्नसमेत सकेको थिएन । सालनाल भने समयमै भएको थियो ।

भैँसीले मङ्गलबार बिहानबाट घाँसापानी खान थालेको र दूध पनि दिएको किसान भविन्द्रबहादुरले बताउनुभयो । गुनी भैँसी ब्याउन नसकेर थलिएपछि उहाँलाई पिरलो थपिएको थियो । शरीर जोडिएका पाडपाडी जन्मिएपछि गाउँलेले अनौठो मानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्