बाल उद्यानको बेहाल

बाल उद्यानको बेहाल

विराटनगर । बालमैत्री महानगरपालिका घोषित विराटनगरको एक मात्र बाल उद्यान वर्षौदेखि बेहाल अवस्थामा रहेको पाइएको छ ।

विराटनगर १ पोखरियामा २०६४ सालमा स्थापना भएर केही वर्ष जिल्ला बालकल्याण समितिमार्फत सञ्चालन भएको बालउद्यान नगरपालिकाको जिम्मामा आएपछि बेहाल बनेको हो ।

स्थानीय समाजसेवी र विदेशी दाताहरुको सहयोगमा ६० लाख रुपैयाँ लागतमा बालउद्यान निर्माण भएको थियो । विराटनगर १ मा ५ कठा जमिनमा निर्माण भएको बाल उद्यान त्यसबेला निक्कै मनमोहक थियो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको वालकल्याण समितिमार्फत निर्माण भइ सञ्चालन भएको उद्यान नगपालिकालाई सम्पूर्ण व्यावस्थापन गर्ने गरि २०६८ सालमा हस्तान्तरण गरिएको थियो । तर, त्यसपछि दुई वर्ष जेनतेन सञ्चालन भएपनि नगरपालिकाकै वेवास्ताले गर्दा जीर्ण र सुनसान अवस्थामा पुगेको छ ।

रेखदेखकर्ता दिनेश रेग्मीका अनुसार ५ कठ्ठा जग्गामा निर्माण भएर सञ्चालनमा आएको उद्यान तथा अध्ययन केन्द्रमा ५ वर्षदेखि कुनैपनि गतिविधि भएका छैनन् । उद्यानमा भएका पोखरी, पिङ र वालक्लवको भवन पनि भत्केर जीर्ण बनेको छ । त्योबेला देशकै नमुना बाल उद्यान भन्दै मानिसहरु अवलोकन भ्रमणका लागि आउने गरेका थिए भने उद्यानमा रमाउन आउने बालवालिकाहरुको पनि घुँइचो हुने गर्दथ्यो ।

सरकारी वेवास्ताले गर्दा हाल उद्यानभित्र रहेका खेल्ने सामग्रीहरु सबै भत्केर काम नलाग्ने भएका छन् । एक तले चार कोठे भवन पनि जीर्ण बनेर पानी चुहिने अवस्थामा छ । बेलावेला भवनमा नगर स्तरीय बालक्लवको बैठक बस्नेबाहेक अरु केही गतिविधि भएको छैन । भवनमा भएको पुस्तकालय पनि उद्यान सञ्चालन नभएकोले आम बालवालिकाहरुले प्रयोग गर्न पाएका छैनन् ।

महानगरपालिकाले एक मात्र बाल उद्यानका लागि भनेर आर्थिक वर्ष २०७६÷७७ मा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । वडाअध्यक्षको रोहवरमा बसेर गठन गरेको उपभोक्ता समिति पारदर्शी नभएको भन्दै स्थानीयले चर्को विरोध गरेपछि सो बजेट खर्च हुन सकेन ।

स्थानियबासी काजी बस्नेतले महानगरपालिकाले एकलौटी ढङंगले उपभोक्ता समिति गठन गराएर मनखुसी काम गराउन लागेपछि विरोध भएको बताउनुभयो । बालउद्यान एउटा वडाको मात्र नभएर महानगरपालिको भएकोले विस्तारित भेला आयोजना गरेर उपभोक्ता र अनुगमन समिति गठन गर्नुपर्ने माग स्थानीयको छ ।

चार वर्ष अघि नै पूर्ण वालमैत्री नगर घोषणा भएको विराटनगरले आफूलाई बालमैत्री शहर बनाउने प्रतिबद्धता पनि गरेको छ । तर, देशकै नमुना बालउद्यान बनेकोमा त्यो पनि संरक्षण गर्न सकेको छैन । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले बाल उद्यानलाई नमुना बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँँले प्रक्रिया अनुसार पुननिर्माणको काम सम्पन्न गराएर चालु वर्षभित्रै उद्यान पहिलेकै अवस्थामा उद्यान सञ्चालनमा ल्याउने दावी गर्नुभयो ।

नेपाल सरकार र दातृ निकाय युनिसेफको सहयोगमा २०७३ वैशाख ३१ गते विराटनगरलाई पुर्ण खोपयुक्त र बालमैत्री नगर घोषणा गरिएको थियो ।
स्रोत : हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्