विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी (बहिरंग) सेवा बन्द भएको छ । ओपीडीमा कार्यरत दुई स्वास्थ्यकर्मीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको हो ।
अस्पतालका मेसु डाक्टर चुमनलाल दासका अनुसार कार्यरत दुईजना कर्मचारीमा कोरोना भाईरस संक्रमण पोजेटिभ पुष्टि भएको छ । अस्पतालले अहिले ओपीडी सेवा सुचना जारी गरेर बन्द गरेको छ ।
कन्ट्रयाक ट्रेसिङ गर्न, सेनिटाइज गर्न र अन्य स्वास्थ्यकर्मीको कोरोना जाँच गर्नका लागि ओपीडी सेवा बन्द गरिएको मेसु दासको भनाई छ । सेनिटाइज र अन्य स्वास्थ्यकर्मीको नमूना परीक्षणपछि पुनः ओपीडी सुरु गर्ने उनले बताए । संक्रमित दुईमध्ये एक जना नाक, कान, घाँटी विभागमा कार्यरत र एक जना ओपीडी इञ्चार्ज हुन् ।
यस अगाडी कोशी अस्पताल विराटनगरका एकजना चिकित्सक र एकजना नर्समा संक्रमण पोजेटिभ देखिएको थियो । उनीहरुमध्ये चिकित्सक हाजिर हुनुपूर्व नै संक्रमित भएकोले समस्या परेको थिएन । नर्स कार्यरत पोस्टनेटल वार्ड सिल गरेर सम्पर्क पहिचान गरिएको थियो । अस्तीको समस्या थिएन, बुधबार राती देखिएको दुईजनाका कारण केहि समस्या थपिएको छ, मेसु दासले भन्नुभयो–ओपीडी तीनदिनसम्म बन्द रहनसक्छ ।