विराटनगरका संक्रमित तीन दिनसम्म घरमै

विराटनगरका संक्रमित तीन दिनसम्म घरमै

विराटनगर । विराटनगर, इटहरी र धरानमा कोरोनाको संन्त्रास छाएसँगै संक्रमित व्यवस्थापनमा अलमल र ढिलाई हुन थालेको छ ।
तीनवटै शहरमा कोरोना संक्रमणको संख्या बढ्न सक्ने आंकलन गर्दै आपत्कालिन बैठक तथा छलफलहरु सुरु गरिएका छन् । तर, समुदायस्तरमा संक्रमण फैलिएको अवस्थामा स्थानीय सरकारले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने कुरा भने ठूला शहरका जनप्रतिनिधिमा औन्यौल देखिएको छ ।

लक्षण नदेखिएका संक्रमितलाई घरमै आईसोलेटेड गर्ने सरकारको योजना नआउँदै विराटनगर महानगरपालिका भित्रका संक्रमित तीन दिनदेखि घरमै बसिरहेका छन् । विराटनगरमा मंगलबार संक्रमण पुष्टि भएका व्यक्तिहरु बिहीबारसम्म पनि अस्पताल भर्ना गर्न सकेको छैन ।
गोठगाउँको आईसोलेशन अस्पताल खाली नभएको र कोभिड–१९ उपचार केन्द्रमा राख्ने ठाउँ नभएको भन्दै संक्रमितलाई घरमै छोडिएको हो ।

विराटनगर महानगरपालिकाले यस्ता संक्रमितहरुलाई व्यवस्थापन गर्ने कुनैपनि स्थानको निर्धारण गरेको छैन । संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पतालसम्म लैजानको लागि स्थानीय तहले पहल लिनुपर्ने हुन्छ ।  महानगरमा मंगलबार संक्रमण पुष्टि भएकाहरुको बिहीबार मात्रै नगर रक्षकमार्फत सम्पर्क गरिएको छ । ग्रामिण वस्ती र साना शहरमा संक्रमण जोखिम न्यूनीकरण गर्न सहज हुने भएपनि ठूला शहरमा संक्रमण फैलिएको अवस्थामा व्यस्थापनमा समस्या हुने देखिसकिएको छ ।

गोठगाउँको आइसोलेशन र कोशी कोभिड–१९ उपचार केन्द्रको बेड खाली भएको खबर नआउँदासम्म विराटनगर जस्तो महानगरले संक्रमित उठाउन सकेको छैन । उनीहरुलाई घरमै राखेर महानगरका स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरुले फोन अफ गरेका छन् । विराटनगर महानगरपालिका भित्र मंगलबार १६ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये केहि संख्या बुधबार र बाँकी संख्या बिहीबार मात्रै अस्पताल भर्ना प्रक्रियामा रहेका छन् ।

यसैगरी बुधबार संक्रमित पुष्टि भएकाहरु समेत बिहीबार दिनभर घरमै रहेका छन् । अस्पतालको बेड खाली भएको खबर आएपछि खोजि गरिरहेका छौं, महानगरका एक कर्मचारीले भने–अहिले पनि म संक्रमितको घर खोजिरहेको छु । गोठगाउँबाट बिहीबार बिहान ३४ जना संक्रमित डिस्चार्ज भएपछि मात्रै विराटनगर महानगरपालिकाका संक्रमितको खोजि भईरहेको एक कर्मचारीले दावी गरेका छन् ।

विराटनगरमा जिमखाना उद्घाटन गर्न हतारिएका मेयर भीम पराजुलीले कोरोना संक्रमित व्यक्तिलाई समयै व्यस्थापन गर्न नसकेको भन्दै नगरवासीले कार्यक्षमतामा प्रश्न उठाउँदै आन्दोलनमा उत्रने चेतावनी दिईसकेका छन् ।

महानगरपालिकाका मेयर भीम पराजुलीले अस्पताल खाली नभएर समस्या भएको बताउनुभयो । उहाँले क्वारेन्टीन बाहेक आइशोलेन अस्पतालको जिम्मा प्रदेश सरकारको भएकोले संक्रमितहरु भर्ना गर्न असंभव भएको दावी गर्नुभयो । उहाँले संक्रमितहरुलाई विस्तारै अस्पताल भर्ना गर्ने प्रक्रिया रहेको बताउनुभयो ।
प्रदेश सरकारसँगको छलफलमा कोभिड–१९ अस्पतालको पछाडी रहेको नेशनल ट्रेडिङको गोदामलाई समेत अस्पतालमा रुपान्तरण गर्ने योजना रहेको भन्ने आएकोले अझै केहि दिन व्यवस्थापनमा समस्या हुने मेयर पराजुलीको भनाई छ ।

विराटनगर महानगरपालिकामा बिहीबारसम्म ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३० जना उपचारपछि निको भएका छन् । अहिलेसम्म संक्रमित भेटिएकामध्ये ४१ जना ट्राभल हिस्ट्रि नभएकाहरु रहेको महानगरपालिकाको कोभिड टिम सुपरभाइजर हैदर अलिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्