लकडाउनमा बिकेन मदिरा, अन्तःशुल्कको घट्यो ग्राफ

लकडाउनमा बिकेन मदिरा, अन्तःशुल्कको घट्यो ग्राफ

विराटनगर। कोरोनासँगै लकडाउनको अवधीमा मदिरा बिक्रीमा ह्रास आएको छ । मदिराको बिक्रीमा ह्रास आएसँगै आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन पनि प्रभावित भएको हो।
मदिरा बिक्रीमा ह्रास आएका कारण कार्यालयले संकलन गर्ने अन्तःशुल्क शिर्षकको रकमको ग्राफ तल झरेको हो । जसले गर्दा कुल राजस्वमा असर परेको छ ।

कार्यालयले उठाउने मुख्य ३ शीर्षकका राजस्वमध्ये गत २ महिनामा मूल्य अभिवृद्धि कर र आयकरका शीर्षकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भए पनि अन्तःशुल्क शीर्षकको प्रगति न्यून देखिएको छ।
कार्यालयले चालु आर्थिक वर्षका साउन र भदौ गरी २ महिनामा कुल राजस्व १ अर्ब २९ करोड सङ्कलन गर्ने लक्ष्य राखेकोमा ७७.६५ प्रतिशत अर्थात् १ अर्ब मात्र संकलन गर्न सकेको छ।

मदिरा बिक्रीमा गिरावटसँगै अन्तःशुल्क उठ्न नसकेपछि राजस्वको लक्ष्य नपुगेको कार्यालयले जनाएको छ। मोरङमा नेपाल लिकर्स, चण्डिका डिस्टिलरी र गोल्डेन ग्लोब गरी ३ वटा मदिरा उद्योग छन्।
कार्यालयले मूल्य अभिवृद्धि करतर्फ २ महिनामा ३३ करोड १५ लाखको लक्ष्य राखेकोमा ४१ करोड १२ लाख संकलन गर्दै १ सय २६ प्रतिशत प्रगति हासिल गरेको छ ।

त्यस्तै आयकरतर्फ ३२ करोड ३२ लाखको लक्ष्यमा ३३ करोड ७२ लाख असुल गरेर १ सय ४ प्रतिशत प्रगति हात पारेको छ।

तर अन्तःशुल्क शीर्षकमा भने लक्ष्यको तुलनामा ३९ प्रतिशत मात्र प्रगति भएको देखिएको छ। अन्तःशुल्कमा २ महिनाका लक्ष्य ६३ करोड ७३ लाख रहेकोमा २४ करोड ८६ लाखमात्र संकलन भएको छ।
नेपाल लिकर्सका महाप्रबन्धक कमल सिटौलाले कोभिडको सन्त्राससँगै सर्वत्र हरेक वस्तुको कारोबार घटेकाले त्यसको प्रत्यक्ष असर मदिराको कारोबारमा परेको बताए।
उनले देशभरी लकडाउन र निषेधाज्ञा खुकुलो हुँदै गएका कारण असोज महिनादेखि मदिराको बिक्री बढ्ने विश्वास व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्