विराटनगरमा घरघरमै स्वाब संकलन (भिडियो रिर्पोट )

प्रेम देवान
विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ । महानगरले मोवाईल भ्यानको प्रयोग गरेर नागरिकका घरघरमै स्वाब संकलन सेवा सञ्चालनमा ल्याएको हो ।

रोटरी क्लव विराटनगरले महानगरलाई स्वाब संकलनमा सहजता ल्याउनका लागि मोवायल भ्यान सहयोग गरेको थियो । हिँडडुल गर्न नसक्ने र दिर्घ रोगीहरूको स्वाब संकलनमा समस्या हुँदा मोवायल भेनको प्रयोग गर्न थालिएको छ । संक्रमित व्यक्तिको सम्पर्क पहिचानमा परेका नागरिकको स्वाब संकलन र पीसीआर परीक्षणका लागि महानगरले स्वास्थ्यकर्मीको टोलि घरमै खटाउने गरेको हो ।

आइतबार विराटनगर १० मा रहेको मानव सेवा आश्रममा आश्रय लिएका मानसिक समस्या भएका नागरिकहरुको स्वाब संकलन गरिएको छ । मानव सेवा आश्रमका तीन जना जेष्ठ नागरिकलाई कोराना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्याक ट्रेसिङको आधारमा आश्रममा रहेका सबै जेष्ठ नागरिक तथा त्यहाँ बसेका अन्य कर्मचारी र बालबालिकाहरुको स्वाब संकलन थालिएको हो ।

महानगर भित्र मोवाईल भ्यानबाट आजबाट स्वाब संकलन सुरु गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । विशेष गरी मोवाईल भ्यानबाट अशक्त र जुन वडामा बढी कोरोना संक्रमण देखिएको त्यो वडामा रहेका जनसमुदायस्तरमा पुगेर स्वाब संकलन गरिने मेयर भीम पराजुलीले बताउनुभयो ।

यस अघि वडाका सबै नागरिकलाई स्वाब संकलनको लागि जैन भवनमा जानुपर्ने हुन्थ्यो । तर, अहिले मोबाइल भ्यानबाट स्वाब संकलन गर्दा अशक्त अपाङगता र जेष्ठ नागरिकलाई सहज भएको छ ।
‘कन्टयाक ट्रेसिङ र हिँडडुलमा समस्या हुने जेष्ठ नागरिकहरूको अहिले महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन लिन सुरू गरेको छ ।
महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अन्य स्वास्थ्य समस्या भएर अस्पताल पुग्दा पीसीआर रिपोर्ट माग्ने गरिएकोले यस्तो अवस्थामा अफ्ठ्यारोमा पर्ने ज्येष्ठ नागरिक, दिर्घरोगी र अशक्तहरुलाई द्रुत मोवायल भेन सेवाबाट सुविधा दिन सकिने दावी गर्नुभयो ।
महानगरले थालेको यो अभियानलाई धेरैले स्वागतयोग्य मानेका छन् ।

विराटनगरमा एकै दिन १३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ५१ महिला र ७९ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या हालसम्कै उच्च हो ।
यो समाचार तयार पार्दा सम्म विराटनगर महानगरपालिकाभित्र २ हजार १८६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५८४ जना निको भएर डिस्चार्ज भएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्