विराटनगरका सामुदायिक विद्यालयमा सुरु भयो पढाई (भिडियोसहित)

प्रेम देवान
विराटनगर । दृष्यमा, विराटनगरका ३ वटा सामुदायिक विद्यालयले विद्यार्थीलाई प्रत्यक्ष कक्षामा पढाउँदै गरेका छन् । विराटनगर १३ मा रहेको बाल निम्न माध्यमिक, विराटनगर ११ मा रहेको जनपथ स्कुल र धरान रोडमा रहेको सत्यनारायण उच्च मा.वि. मा पढाई भईरहेको छ ।
सरकारले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति गराएर कक्षा सञ्चालनको अनुमति दिएको छैन । तर, सरकारी विद्यालयले नै सरकारको निर्णय उल्लंघन गरिरहेका छन् । समुदायस्तरमा कोरोना फैलिरहेको विराटनगर महानगरमा केहि सामुदायिक विद्यालयले कक्षा कोठामा नै विद्यार्थीहरु सामेल गराई पढाईरहेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम विद्यार्थीलाई सिकाई सहजीकरण गराउन थालिएको दावी गर्दै आएका छन् ।

दृष्य नम्बर एक :

पढाई भइरहेको दृष्य शुक्रबार बिहान विराटनगर १३ सैनिक टोल बरगाछीमा रहेको श्रीबाल निम्न माध्यमिक विद्यालयको हो । जहाँ विद्यालयको कक्षा कोठामा एक बेन्च २ विद्यार्थी राखेर पढाई भइरहेको देखिन्छ । विद्यार्थीहरु प्रायः स्कुल पोसाकमै देखिन्छन् । उनीहरु सबैले मास्क लगाएर किताब कपि बोकेर आएका देखिन्छन् । उता शिक्षकले कक्षामा विद्यार्थीलाई पढाउदै पनि छन् ।
विद्यालयका शिक्षक विश्वनाथ न्यौपाने भने विद्यार्थीलाई पढाएको स्वीकार गर्दैनन् । विद्यार्थीलाई नपढाई सरकारले निर्देशन जारी गरेको सिकाई पद्धतिको लागि विवरण संकलन गर्न मात्रै बोलाएको शिक्षक न्यौपानेको भनाई छ । स्कुलमा विद्यार्थी आईसकेपछि केही न केही होमवर्क दिनको लागि कक्षामा विद्यार्थीहरु राखेको न्यौपानेले दावी गर्नुभयो ।

दृष्य नम्बर २:
विराटनगर जनपथ स्कुलकी अर्निमा विश्वकर्मा भन्छिन् धेरै महिनापछि शिक्षक र कक्षाका सार्थीहरुसँग कक्षा कोठामा बसेर पढ्न पाउँदा धेरै खुशी लागेको छ ।
जनपथ स्कुलमा पनि विद्यार्थीहरु एक बेन्च २ विद्यार्थी भएर पढ्दै गरेका दृष्य देखिन्छन् । केही विद्यार्थी भने मास्क समेत लगाएको देखिदैनन् ।
लकडाउनले गर्दा लामो समयदेखी विद्यालय सम्र्पकविहीन भएका विद्यार्थीहरुलाई विद्यालयमा सहभागी गराउनुपर्छ भनेर विद्यालय व्यावस्थापन समिति अभिभावक र शिक्षकहरुको बैठक बसेर एक दिनमा एउटा कक्षा संचालन गर्ने निर्णयपछि स्वास्थ्य मापदण्ड पुरा गरेर गत भदौ १५ देखी नै विद्यार्थीलाई सहजीकरण गरिरहेको स्कुलका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले बताउनुहुन्छ ।
केही विद्यालयले प्रवेशद्धारमा नै थर्मलगनबाट ज्वरो नाप्ने गरेका छन् । तर, यता जनपथ स्कुलमा भने तत्काल अहिले हामीसँग उक्त सामाग्री नभएका कारण प्रयोग गर्न नसकिएको प्रध्यानाध्यापक पराजुली बताउनुहुन्छ । तर, यसको लागी चाँडै नै व्यवस्थापन समितिसँग छफफल गरी प्रयोगमा ल्याउने पराजुलीको भनाई छ ।

दृष्य नम्बर ३: विराटनगर धरान रोडमा रहेको सत्यनाराण स्कुलका ९ र १० विद्यार्थीहरु विज्ञान विषय पढ्दै छन् । उनीहरुलाई विद्यालयका शिक्षककले विज्ञान विषयको पाठ्यक्रम पढाइरहेका छन् । विद्यार्थीहरु पनि एक बेन्च २ विद्यार्थी नै गरेर पढ्दै गरेका देखिन्छन् ।

यी माथीका ३ वटा दृष्यबाट कोरोना संक्रमणको जोखिमबीच यहाँका सामुदायिक विद्यालयहरुले कक्षा संचालन गरिरहेको प्रष्ट देख्न सकिन्छ ।
यता जिल्लास्थित कोरोना संक्रमण व्यावस्थापन समिति (डिसिसिएमसी) का संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अहिलेको समयमा कुनै पनि विद्यालय संचालन गर्न आदेश नदिएको बताउनुभयो । विराटनगरमा समुदायमा नै कोरोना फैलिसकेका कारण अहिलेको समयमा कुनै पनि विद्यालयले कक्षा संचालन गरेको भेटिए तत्काल बन्द गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्