नेपाल विद्या : लुम्बिनीको राजनीतिक उत्खनन् र सिला खोजको भाषा

<span class='c1'>नेपाल विद्या : लुम्बिनीको राजनीतिक</span> <span class='c2'>उत्खनन् र सिला खोजको भाषा</span>

विराटनगर । लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर सार्वनजानिक भएको केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या ः सिद्धान्त र प्रयोग बजारमा आएको छ । अनुसन्धान कर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गत मंसिर १६ गते कृति नेपाल अर्पण गर्नु भएको थियो । शताब्दी वाङ्मय पुरुष जोशीले नेपाल विद्याले नेपालबारे विश्वकोशको ज्ञान दिने सम्भावना रहेको नेपाल अर्पण संक्षिप्त समारोहका अवसरमा बताउनु भएको पुस्तक अहिले बजारमा आएको हो ।

सन् १८९६ डिसेम्बर १ मा तत्कालीन ब्रिटिस इन्डिया सरकारका कर्मचारी जर्मन नागरिक डा. एलोइस एन्टोन फुहरर र नेपालका बडाहाकिम खड्ग शमशेरले लुम्बिनीको अशोक स्तम्भ पुनः पत्ता लगाएको दिनलाई स्मरण गर्दै सन् २००९ देखि डिसेम्बर १ लाई लुम्बिनी कपिलवस्तु दिवसका रुपमा मनाइँदै आएको छ । अनुसन्धान कर्ता वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गर्दै त्यसका दुई प्रयोग (१) लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन र (२) सिला खोजेको भाषा समेत देखाइएको छ । ४४४ पृष्ठको कृतिलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन र वितरण गरेको हो ।

नेपाल विद्या विधा अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउन सहयोग होस् भनेर नेपालका सबै विश्व विद्यालयहरुमा अनुसन्धानकर्ता र प्रकाशकको हस्ताक्षरसहितका प्रति प्रदान गरिने भएको छ ।
नेपाल विद्याको सैद्धान्तिक खण्डमा भारत विद्या, चीन विद्या, तिब्बत विद्या, इजिप्ट विद्या, आर्मेनियाली विद्या र विकासका लागि जापान विद्या लगायतका देशीय विद्याको सन्दर्भ खोज्दै नेपाल विद्याको जग हालिएको छ । त्यसका साथै अन्य विषयगत अध्ययनको क्षेत्रका सम्भावनामा बुद्ध विद्या र किरात विद्याको चर्चा गरिएको छ । देशीय विद्याका सैद्धान्तिक आधारसहित नेपाल विद्याको खोजी, प्रयोजन र सम्भावना यसमा पाइन्छ ।

देशीय विद्या अध्ययनको सन्दर्भमा नेपाल विद्याको पहिलो प्रयोग लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन रहेको छ । बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित सम्पदाहरुबारे भारतले बारम्बार दावी गर्ने गरेका कारणको खोजी यसमा गरिएको छ । यस केन्द्रमा लामो समयसम्म हालको भारतमा उपनिवेश जमाएको बेलायतको संलग्नता पहिले र अहिले पनि रहेको तथ्य यस प्रयोगबाट उजागर भएको छ । त्यसको असर समग्र दक्षिण एसिया र अन्य मुलुकमा पनि पाइने गरेको छ ।


नेपाल विद्याको अर्को प्रयोग सिला खोजेको भाषा नेपालको भूक्षेत्र र नेपालका भाषाको खोजीसँग सम्बन्धित छ । खासगरी बेलायती अध्ययन परम्परामा नेपालको इतिहास लेखन र खोजी हुँदा नेपाली भाषामाथि भएको अन्यायलाई बेलायती अध्ययन परम्पराभन्दा अघिका ल्याटिन, आर्मेनियाली, अरबी र ग्रिसेली अध्ययन परम्पराले न्याय दिने गरी यसमा खोजी भएको छ ।
त्यसक्रममा सन् १७१७ मा नै नेपाली नामबाटै नेपाली भाषाको अध्ययन भएको सन् १७५९ मा देवनागरी लिपिमा नै नेपाली भाषा युरोपमा छपाइको युगमा पुगेको र १७७१ मा व्याकरण परम्परामा प्रवेश गरेको पाइएको छ । यसले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस वा गोर्खा भाषालाई नेपाली भाषाका रूपमा लादेको भन्ने गलत अध्ययन परम्परालाई सच्याएको छ । यस क्रममा किरात, लिच्छवि, मल्ल कालदेखिका भाषा तथा लेख्य चिह्नका नमुनालाई रोममा छपाइ भएको नेपाली भाषाका नमुनासँग तुलना गरेर निष्कर्ष निकालिएको छ ।

यी सिद्धान्त र प्रयोगले नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको विशिष्ट विधाका रूपमा स्थापना गरेको छ । कृति सार्वजनिकीकरणपछि आयोजित एक भर्चुअल कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले नेपाल विद्या अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउनुपर्ने आवश्यकता औल्याइएको यो महत्वपूर्ण पुस्तक भएको निष्कर्ष निकालिएको थियो ।

नेपाल विद्या बारे विज्ञको धारणा :

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले नेपाल विद्या कृतिले पुरातत्त्विक, ऐतिहासिक क्षेत्रमा नयाँ तथ्यहरू सार्वजनिक गरेर यस क्षेत्रमा ठूलो गुण लगाएको बताउनु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. भूषण श्रेष्ठले नेपालका विश्वविद्यालयहरूले यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनु भएको थियो । पुरातत्त्वविद् प्रा. वसन्त विडारी तथा नेपाल विद्याका अध्येता कृष्णप्रकाश श्रेष्ठले पुरातात्त्विक क्षेत्रमा पुस्तकले नवीन खोज तथ्य सार्वजनिक गर्न सफल भएको बताउनु भएको थियो ।

पुस्तकको परिचय दिँदै प्रा.डा. बद्रीविशाल भट्टराईले अनुसन्धानकर्ता वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गरेको बताउनुभयो । पुस्तकमा लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खननलाई विशेष रूपमा स्थान दिइएको छ ।

समालोचक राम लोहनीले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस वा गोर्खा भाषालाई नेपाली भाषाका रूपमा लादेको भन्ने गलत अध्ययन परम्परालाई पुस्तकले चिरेको बताउनुभयो । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन‘ले कृति अनुसन्धानकर्ता तथा नीति निर्माताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्