अदुवाको भाउ घट्यो, साँवा पनि नउठेपछि किसानमा छायो निराशा

अदुवाको भाउ घट्यो, साँवा पनि नउठेपछि किसानमा छायो  निराशा

इलाम /
अदुवाको राम्रो मूल्य नपाउँदा इलामका किसान निराश भएका छन् । गतवर्ष प्रतिमन (४० किलो) छ हजार सम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मनको एक हजार रुपैयाँ मात्र हुँदा किसान निरास भएका हुन् ।

गत वर्ष उल्लेखनीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखनीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो ।

गतवर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गरेका थिए । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनाल बताउँछन् । अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन ।

यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउँछन् ।

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।

गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्