विराटनगरमा ‘विराट जुत्ता चप्पल व्यापार मेला’ सुरु (भिडियो सहित)

स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा बिहीबारबाट विराट जुत्ता चप्पल व्यापार मेला – २०७७ सुरु भएको छ ।
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यापार मेलाको उद्घाटन गर्नुभएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा सुरू भएको एक्स्पो चैत ५ देखि बैशाख ५ गतेसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने मेला विराटनगर ७ रङ्गेली रोडस्थित नेपाल बङ्गलादेश बैंकको उत्तरपट्टीको खाली संरचनामा सञ्चालन हुने मेला आयोजकले जनाएको छ ।


व्यापार मेलामा १२ कम्पनीको २० वटा ब्राण्डका जुत्ताचप्पलहरुको बिक्री वितरण हुने जनाईएको छ । स्वेदशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले जुत्ताचप्पल व्यापार मेलाको आयोजना गरिएको मेलाका संयोजक होमनाथ उपाध्यायले बताउनुभयो । ‘एकै थलोमा १२ वटा कम्पनीका २० ब्राण्डका ५ हजार जोर बढी मोडलका जुत्ता चप्पलहरू एक्स्पोमा राखिएको छ,’ ‘मेला अवधिभर २ लाख ५० हजार जोर जुत्ता चप्पलको कारोबार हुने आयोजकको लक्ष्य छ ।’

व्यापार मेलामा जुत्ता चप्पलहरूको खरिदमा बिशेष छुटको पनि व्यवस्था समेत गरिएको छ । १ सय देखि १० हजारसम्मका जुत्ताचप्पलमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार दैनिक २० हजारभन्दा बढी ग्राहकले मेलाको अवलोकन गर्नेछन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मेलाको उद्घाटन कार्यक्रममा बोल्दै यस किसिमको मेलाले स्वदेशी उत्पादनको प्रर्बद्धनमा सहयोग पुगेको बताउनुभयो । उहाँले विदेशी उत्पादनसँग प्रतिस्पर्धी भएर उपभोक्ताको चाहना अनुरुपको जुत्ताचप्पलहरू उत्पादन गर्न सके मात्रै स्वदेशी उत्पादनले पनि विश्वबजारमा ख्याति प्राप्त गर्ने स्पष्ट पार्नुभयो ।
मेलामा बिएफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ ब्राण्डका एउटै छानामुनी ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरुको खरिद बिक्रीका लागी राखिएको छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्