अरु दलसँग मिलेर भएपनि प्रधानमन्त्री ओलीको विकल्प खोजौं : पौडेल

अरु दलसँग मिलेर भएपनि प्रधानमन्त्री ओलीको विकल्प खोजौं : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।
अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै उनले भने, ‘यो पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसियत राख्नुपर्छ ।’
ट्रेड युनियन कांग्रेसले शनिबार आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा पौडेलले प्रधानमन्त्री ओलीले उत्पात गरेकाले कांग्रेसले विकल्प दिनुपर्ने बताए । उनले अघि भने, ‘आफू अगाडि बढेर हुन्छ कि संसदमा रहेका पार्टीहरुसँग मिलेर÷मिलाएर हुन्छ, ओलीको नयाँ विकल्प कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ ।’
कांग्रेसकै कतिपय नेता चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले असन्तुष्टि जनाए । अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति नदिएको भन्दै उनले अघि भने, ‘त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिँड्ने ? कहाँ फस्दै गयौं हामी ? कसले फसाउन खोज्यो ?’

कांग्रेसले अहिले चुनाव नभई संसदलाई कसरी उपयोग गर्ने भनेर काम गर्नुपर्ने र संविधान बचाउन लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए ।
अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्