युगकवि श्रेष्ठको सम्झना गरिँदै

युगकवि  श्रेष्ठको सम्झना गरिँदै

ओखलढुङ्गा

युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्म भएको थियो ।यस वर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले तयार गरेको उक्त भिडियोलाई दिनेश डिसीले निर्देशन गर्नुभएको छ । युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको भिडियोमा समीक्षा पोखरेल, महेश खड्का एवं डिसीको अभिनय छ ।

कोरोना कहरका कारण युगकविको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उहाँका छोरा रविचरण श्रेष्ठले जानकारी दिनुभयो । युगकविको परिवारले काठमाडौँको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ ।

विगत वर्षमा विविध साहित्यिक कार्यक्रम गरेर जन्मभूमिमा सिद्धिचरणको जन्मजयन्ती बनाउने गरिए पनि यस वर्ष कुनै औपचारिक सभासमारोह राखिएका छैनन् । सिद्धिचरण सङ्ग्रहालय समिति र स्थानीय साहित्यिक व्यक्तिले आआफ्नै किसिमले युगकविलाई सम्झिएको समितिका ध्रुवकुमार राजभण्डारीले बताउनुभयो ।

युगकवि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिनुहुन्छ । उहाँ नेपाल भाषामा कविरत्नका रुपमा पनि चिनिहुनुन्थ्यो । उहाँले आफ्नो जीवनको साढे छ दशक साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाउनुभएको थियो ।

उहाँका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । उहाँका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति छन् ।
युगकविको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्