बेलायतबाट फर्किएर चेन होटलमा लगानी गर्दै चापागाई

बेलायतबाट फर्किएर चेन होटलमा लगानी गर्दै  चापागाई

चितवन

दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनुभएको छ । दियालो र अनुपम फुडल्याण्डको नाममा उहाँको समूहको होटल बिस्तार भइरहेको छ ।

पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उहाँको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ । त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौँको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौँडा र नुवाकोटमा शाखा बिस्तार गर्ने उहाँको तयारी छ । चापागार्इंले भन्नुभयो, “आउँदो पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छाँै ।”

भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उहाँले यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै उहाँ बेलायत पुग्नुभयो । नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा उहाँको जिम्मेवारी राम्रो होटलको सेफको थियो । त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्किएर काम थालेको चापागाईले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले त्यहाँ पैसा र सीप पाएपछि स्वदेशमा नै गएर काम गर्ने रहर भयो ।”

नेपाल फर्किएसँगै काठमाडौँमा एक जना साझेदारसँग मिलेर उहाँले दियालो फुडल्याण्ड सुरु गर्नुभयो । ती साझेदार हुनुहुन्छ माधव पाण्डे । यससँगै साझेदारको सङ्ख्या थप गरेर व्यवसाय बिस्तार हुन थाल्यो । सुरुमा दुई जनाले रु दुई करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा रु ५० करोडभन्दा माथिको भएको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ । सबैलाई जोड्दा यो सङ्ख्या पुगेको हो ।

आम्दानीको २० प्रतिशत व्यवसाय बिस्तारका लागि खर्च गरिँदै आएको उहाँले बताउनुभयो । राजधानीमा ठूला कार्यक्रमका लागि चापागाई परिचित नाम हो । राजनीतिक दलका सभासम्मेलन गर्न पर्दा आउने नाममध्येमा उहाँलाई पहिलो लहरमा लिने गरिन्छ । आफ्नो गृह जिल्ला चितवनमा उहाँले सबैभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ ।

उहाँले भन्नुभयो, “हाम्रो हलमा दुई हजार २०० कुर्सी अट्छ । राजधानी बाहिर यति ठूलो हल कसैको छैन ।” कला कौशलले सजिएको बेलायती शैलीको आकर्षक हलसँगै २० कोठा दियालोमा छ । उहाँको दाबी छ सबैकोभन्दा मीठो खाना हामी खुवाउन सक्छौँ । आफैँ सेफ भएकाले उहाँका होटलमा परिकारमा बढी जोड दिइन्छ । दियालो समूहका अध्यक्ष चापागाई काठमाडौँका जस्ता सेफ स्थानीय स्तरमा पाउन कठिन र एकै खालका खानाका लागि राजधानीका सेफ राखेर बाहिरी शाखा सञ्चालनमा आएको बताउनुभयो । चितवनमा राष्ट्रिय स्तरका कार्यक्रम गर्न सहयोग पुगोस् भन्नका लागि ठूलो हलमा खर्च गरेको उहाँको भनाइ छ । यहाँको शाखामा मात्र रु १२ करोड खर्च भएको चापागाईले जानकारी दिनुभयो ।

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले विदेशको सीप उपयोग हुने गरी स्वदेशमा व्यवसाय बिस्तार गर्नु सकारात्मक भएको बताउनुभयो । अहिलेको परिस्थिति सकारात्मक नभए पनि आउँदा दिनमा होटल व्यवसाय राम्रो हुने उहाँको भनाइ छ । चितवन देशकै केन्द्रबिन्दु भए पनि ठूला हलको अभावमा कार्यक्रम हुन नसकेको भन्दै उहाँले चापागाई समूहको होटल ठूला कार्यक्रमका लागि प्रभावकारी हुने छ भन्नुभयो ।

दियालो फुडल्याण्ड चितवनका साझेदार सनदकुमार पियाले विदेशमा आर्जन गरेको सीप यहाँ ल्याएर यसको प्रतिफल नेपालीलाई दिने उदाहरणीय काम चापागाईले गरेको बताउनुभयो । नेतृत्वकर्तासँग सीप भएकाले आफूहरु लगानी गर्दा ढुक्क रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्